इलाम, १ असोज – रासस । इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ । घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु काम गर्न उनलाई धौ धौ पर्ने गर्छ । उनी इलामकी एक मात्र अदुवा उद्यमी हुन् । उनी अदुवाबाटै विभिन्न परिकार बनाएर बेच्ने गर्छिन् । उनको उद्योगमा बनेका वस्तु इलाममा मात्र नभई जिल्ला बाहिर पनि बिक्छ । उनी यो व्यवसाय गर्ने जिल्लाकै एक मात्र उद्यमी हुन् भन्दा पनि फरक पर्दैन ।
वि.सं २०६८ मा सामान्य तालिम लिएर अदुवा प्रशोधनमा हात हालेकी उषाले अदुवाबाट बन्ने क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्छिन् । यसैबाट जीवन चलाउँदै आएकी उनको प्रशोधन केन्द्रमा मासिक पाँच क्विन्टल अदुवा खपत हुन्छ । “अहिले मेरो प्रशोधन केन्द्रमा पाँच क्विन्टल जति अदुवा खपत हुन्छ, सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छुु ।” उषाले भनिन् ।
रासायनिक मल र विषादीले मानिसको शरीरमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने कुरा बुझेकी उनले अदुवा साना किसानबाट मात्रै किन्ने गरेकी छन् । उनको अनुभवमा व्यावसायिक रुपले खेती गर्ने ठूला किसानले बढी रासायनिक विषादी प्रयोग गर्छन् ।
शुरुआती समयमा अनावश्यक झण्झट खेपेकी उनले व्यवसाय बढे सँगै प्रशंसा पनि बटुल्ने गरेकी छन् । उनले भनिन् – “जति बेला मैलै यो उद्यम शुरु गरें त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइनँ । राम्रो बजारीकरण पनि नभएको बेला अरुलाई बुझाउन समस्या पर्यो । अहिले पनि बजार मूल्य राम्रो त पाएको छैन तर, बनाइसकेका परिकार खेर चाहीँ फाल्नु पर्दैन ।”
यस्ता वस्तुको माग स्वदेशमा राम्रो नभए पनि विदेशमा हारालुछ हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन् – “यहाँ त अहिले पनि अदुवाको सर्बत भन्दा मानिसले बुझ्दैनन् तर, बाहिरबाट आएका पर्यटकका लागि भने यही अमूल्य हुने गरेको छ ।” उषाले अरु दुई जनालाई अहिले रोजगारी दिइरहेकी छिन् । उनी अहिले सूर्योदय नगरपालिकाको पशुपतिनगरमा उद्योग सार्ने योजनामा छिन् ।
इलाम नगरपालिका–१ साँखेजुङकी मिलनकुमारी खत्रीले धेरै सङ्घर्ष गरेर हुर्किनु पर्यो । विवाह पछि पनि जीवन उस्तै रह्यो तर, मिलनको मनमा भने सधैं ‘केही गर्नुपर्छ’ भन्ने आइरहन्थ्यो । के गर्ने ? न त हातमा शीप, न गोजीमा दाम ।
त्यतिकैमा मिलनको मनमा चिया रोप्ने सोच आउन थाल्यो । कुनै बेला मिलनलाई चिया ओइलाए पछि पनि लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर ल्याएर तत्कालै पकाएमा मात्रै चिया बन्छ भन्ने उनी सोच्थिन् ।
मिलनले भनिन् – “आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थालें । चियाका दाम त्यति बेला आठ रुपैयाँ थियो होला तर, हामी बेच्ने काम गर्दैनथ्यौँ ।” मिलनका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो ।
“चिया रोपेको ३–४ वर्ष पछि मात्रै नगदमा बेच्न थाल्यौँ ,” उनले भनिन् – “हामी त्यति बेला घाममा मात्र चिया सुकाउँथ्यौं । पानी परेको बेला भने आगो माथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”