काठमाडौं, १ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको उद्धघाट्न गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २० देखि २२ सेप्टेम्बरसम्म चल्नेछ ।
एनआरएनए आईसीसीको आउँदो महिना नेपालमा हुने वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा हुन लागेको पहिलो विश्व स्वास्थ्य सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ । मन्त्री यादव नेपाल सरकारको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार नै अमेरिका प्रस्थान गरेका हुन् । त्यही अवसरमा मन्त्री यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएकोे हो ।
शुक्रबार सुरु हुने सम्मेलनको २१ सेप्टेम्बरमा मन्त्री यादवले उद्घाटन गर्ने आयोजकले जनाएको छ। त्यसका लागि मन्त्री यादव बिहीबार नै सम्मेलनस्थल एटलान्टा पुग्ने र शनिबारसम्म सम्मेलनमा सहभागी भैसक्नेपनि आयोजकको भनाई छ ।
त्यस्तै, मन्त्री यादव शनिबार नै महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यतालिका छ । २२ र २३ सेप्टेम्बरमा मन्त्री यादव महासभाको बैठकमा भाग लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।