अभिनेता सुशील श्रेष्ठ अभिनीत दुई चलचित्र एकै दिन रिलिज हुने भएको छ । चलचित्र “लभ डायरिज” र “बादशाह जुट” एउटै मितिमा प्रदर्शन हुन लागेको हो । फिल्म ‘लभ डायरिज’ ले घोषणा गरेकै मितिमा ‘बादशाह जुट’ आउने निश्चित भएको छ । ‘लभ डायरिज’ केही पछाडि हट्न तयार भएपछि यो फिल्म कात्तिक १५ मा आउन लागेको जनाइएको छ ।
सुशीलले चलचित्र “होस्टेल रिर्टन” बाट चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् । पछिल्लो समय चलचित्र “कारखाना” मा काम गरेपछि उनी गएको डेढ वर्षदेखि पर्दामा देखिएका छैनन् । उनको यस वर्ष भने दुईवटा चलचित्र एकै साथ प्रर्दशनमा आउने भएको छ ।
उनको चलचित्र “बादशाह जुट” गत वर्ष नै प्रदर्शनमा आउनु पर्ने थियो । तर, विभिन्न कारणले गर्दा पटक–पटक प्रदर्शन मिति सरेको हो । चलचित्र “लभ डायरिज” को पनि प्रदर्शन मिति असोज ३ तोकिएको थियो । तर, चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सँग डराएर कात्तिक १५ मा पुग्यो ।
जोनी सिंह निर्देशित चलचित्र “बादशाह जुट” आफुले आफुलाई बादशाह सम्झने दुई युवाको कथामा आधारित छ । चलचित्रमा सुशीलसँगै रविन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । गत वर्ष नै यस चलचित्रको “काफल पाक्यो” गीत सार्वजनिक गरिएको थियो ।
राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको चलचित्र एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको छ । अभिनेत्री प्रियंका कार्कीको अतिथी भूमिका रहेको उक्त चलचित्रलाई हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले निर्माण गरेका हुन् ।