इस्लामावाद, २ असोज । पाकिस्तानले भारतले मागेअनुसारको एयरस्पेश दिन अस्विकार गरिदिएको छ । पाकिस्तानसँग भारतले प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो । पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताए ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी जाँदैछन् । मोदी सवार विमानका लागि भारतले पाकिस्तानसँग हवाई मार्ग उपलब्ध गराउन अनुरोध गरेको हो । पछिल्लो समय पाकिस्तानले भारतबाट उडान भर्ने विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ ।
कश्मीरको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मोदीको उडानका लागि हवाई मार्ग उपलब्ध गराउन नसकिने जवाफ भारतीय उच्चायोगलाई दिएको पाकिस्तानी विदेशमन्त्रीको भनाइ छ ।
पाकिस्तानले हवाई मार्ग उपलब्ध नगराउँदा भारतबाट हुने अन्तर्रा्ष्ट्रिय उडान पाकिस्तानी वायुक्षेत्र भन्दा बाहिरबाट उड्नुपर्ने बाध्यता हुन्छ । पाकिस्तानी हवाई क्षेत्र भन्दा बाहिरबाट उड्दा विमानको उडान समय र लागत खर्च बढी हुने गरेको छ । (एजेन्सी)