रिपोटर्स नेपाल, ४ असोज । रक्तदान गरेर आराम मात्र गर्दै थिए एक युवक अचानक ढले । उनलाई रक्तदान कार्यक्रममा उपस्थित स्वयंसेवकहरुले हत्तपत्त उठाए । मेचमा बसाएर पानी पिउन लगाए । युवक एकैछिनपछि तंग्रिए ।
२६ वर्षीय युवकले गाँजा सेवन गरेका रहेछन् । गाँजा सेवन गरेर रक्तदान गरेकाले ढलेका रहेछन् ।
अर्को युवक रक्तदानका लागि बसे । नर्सले रगत झिक्न सुई लगाउन मात्र लागेकी थिइन् ह्वास्स गनायो । सोधिन्, के तपाईंले पिउनुभएको छ ?
विहान हल्का पिएको ।
नर्सले आफ्ना सिनियरलाई सोधिन्- रक्सी पिएकोले रगत दिन मिल्छ ?
सिनियरले नमिल्ने भन्दै तत्काल रगत संकलनको प्याकेट फिर्ता गर्न लगाए । २१ वर्षका युवक फर्किए ।
यी घटना पशुपतिनाथ नजिकै गौशालामा शुक्रबार दिउँसो आयोजित रक्तदान कार्यक्रमको हो । युवकहरु रक्तदान गर्न आउँदा रक्सी र गाँजा पिएर आएका थिए । उनीहरुमध्ये केहीले रक्तदान समेत गर्न भ्याए । केहीलाई भने थाहापाएर रोकियो ।
रक्तदान गर्दा रक्सी र गाँजा पिएकाले कतिपयले रिंगटा लाग्यो भन्दै थिए । जसका कारण बीचैमा रोक्नुपरेको थियो ।-सांकेतिक तस्बिर