काठमाडौं, ५ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउनु जरुरी रहेको बताएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले भने,“राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ।”
कार्यक्रममा हास्य कलाकारद्वय मनोज गजुरेल र जीतु नेपालले ट्राफिक नियमलाई चुस्त, दुरुस्त बनाउनका लागि हरेक व्यक्तिमा जनचेतना आवश्यक रहेको उल्लेख गरेका थिए । पन्ध्र दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशे पुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्नेछन् ।
अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलङ्की, महाराजगञ्ज, विएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेजसहित ५०० स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम