काठमाडौं, ६ असोज । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ उनले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याईनभ्याई भएको टिप्पणी गरे । उनले भने,‘एकजनालाई धेरै जिम्मेवारी दिईएको छ, त्यसैले उहाँलाई भ्याईनभ्याई छ ।’
उनले ऐन र कानूनबमोजिम अधिकार प्रत्यायोजन नभएकोमा गुनासो पोखे । उनले सिडिओहरु कामविहीन भएको बताए । उनले भने,‘महानिर्देशकज्यू, सिडिओहरुलाई अधिकार दिन किन हिचकिचाउनु भएको हो ?’ उनले डिजीलाई कानून पढ्नसमेत सुझाव दिए । मन्त्रीको निर्देशनमा सिडिओलाई अधिकार प्रत्यायोजन नगरिएको उनको आरोप छ । उनले भने,‘कानूनलाई बग्न दिनुपर्छ । कानून पढ्न नजाने सहयोगी राखेरपनि पढ्नुहोस् ।’
बानियाँले अहिले बजार बजारजस्तो नभएको पनि टिप्पणी गरे । उनले भने,‘अहिले उपभोक्तालाई लुट्ने काम भैरहेको छ । सरकारले बजार हेरेकै छैन् । विभाग अहिले अलमलिएको छ । जनता लुटिएका छन् ।’ उनले यातायात व्यवसायीहरुले एजेण्टको काम गरेको सुनाए । उनले यात्रुलाई दुःख र सास्ती नदिनपनि व्यवसायीहरुसमक्ष आग्रह गरे ।