Logo

चिनियाँ समाजलाई अनुशरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली



काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि भएकोले त्यसलाई अनुशरण गर्न सकिने बताएका छन् ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भने,“चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याए । उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए ।

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए । रासस 



प्रतिक्रिया दिनुहोस्