काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको टिप्पणी गरेका छन् । खोटाङको दिक्तेलमा मंगलबार आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिए ।
उनले भने,“यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।”
उनले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताए । “काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उनले भने, “एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट काङ्ग्रेसको जित हुन्छ १ तिक्तताले हामीलाई धरासायी पारेको छ । आगामी दिनमा आपसमा रहेको तिक्ततालाई अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।”
हालसम्म काङ्ग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै महामन्त्री कोइरालाले अबका दिनमा काङ्ग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। “नेपालमा भएका महत्वपूर्ण परिवर्तन काङ्ग्रेसको नेतृत्वमा भएको छ”, उनले भने, “प्रचारप्रसार गर्न नसक्दा यसको फाइदा अरुले उठाइरहेका छन् ।”