Logo

नेपालमा ‘हिन्दु राष्ट्र’ को बहस चर्कदै गर्दा आरएसएस प्रमुखको आयो यस्तो अभिव्यक्ति



नेपालमा हिन्दु राष्ट्रको बहस चर्कदै गर्दा हिन्दुवादी संस्था राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवतले नेपालको व्यवस्था नेपाली जनताले तय गर्ने बताएका छन् । मंगलबार दिल्लीमा छानिएका विदेशी पत्रकारहरुलाई बोलाएर पत्रकार सम्मेलन गर्ने क्रममा नेपाली पत्रकारहरुको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘नेपालको राजनीतिक व्यवस्था नेपाली जनताले तय गर्ने हो, पहिलोपटक विदेशी पत्रकारलाई बोलाएर पत्रकार सम्मेलन गरेका आरएसएस सरसंगचालक भावगतले भने,’ हामीलाई नेपालका बारे सुझाव दिने अधिकार छैन । हिन्दु धर्मालम्बीहरु नै वास्तविक धर्मनीरपेक्ष रहेको उनको तर्क थियो । हिन्दुले अर्को धर्म मान्नेको पनि सम्मान गर्ने गरेको उनको भनाई थियो ।

दक्षिण एशियामा एउटै राज्य बनाउने आरएसएसको मुख्य उद्देश्य रहेकोबारे सोधिएको प्रश्नमा उनले त्यसको खण्डन गरे । उनले भने, ‘दक्षिण एशियाको इतिहासमा कहिले एउटा राज्य रहेन र यसको कल्पना पनि छैन ।’ यस क्षेत्रको समाज एकतावद्ध होस् भन्ने आफूहरुको उद्देश्य रहेको बताए । उनले भने, ‘व्यवहारिक धरातलमा दक्षिण एशियामा मिलेसम्म खुल्ला सीमाको अभ्यासका लागि प्रयास हुनुपर्छ ।’
कार्यक्रममा ३० देशका ५६ मिडियाबाट ९३ जना पत्रकारहरु सहभागी थिए । आरएसएस प्रमुख मोहन भागवतले एक सय वटा प्रश्नको जवाफ दिएका थिए ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको नजिक रहेको आरएसएस विश्वकै शक्तिशालीमध्येको संगठन मानिन्छ । भाजपाका सबैजसो प्रभावशाली नेताहरु आरएसएसबाट प्रशिक्षित भएर राजनीतिमा आएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि आरएसएसको कार्यकर्ता थिए ।-एजेन्सी Photo Source: DNA India



प्रतिक्रिया दिनुहोस्