Logo

एसडी मुनीको डिजाइनमा भएको बाबुराम-उपेन्द्र एकता धरापमा



काठमाडौं, ९ असोज । एकजना भारतीय प्राध्यापकले नेपालका दुई नेताहरुलाई मिलाए । कम्युनिष्ट विचारधारा छाडेर लोकतान्त्रिक बनेका दुई नेताहरु मिल्दा धेरैलाई असामान्य लागेको थियो । नेपालको राजनीतिलाई दुरगामी प्रभाव पार्ने गरी बनाइएको यो रणनीति अनुसार भएको एकता अहिले धरापमा परेको छ ।

यो एकता थियो बाबुराम भट्टराई नेतृत्वको नयाँ पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको एकता । एकतापछि समाजवादी पार्टी नेपाल बन्यो । यादव नेतृत्वको दलमा जनजातिहरुको दल समेत एकता भइसकेको अवस्था थियो ।

मधेशवादी र जनजातिबीचको शक्तिमा बाबुराम भट्टराई घुस्नुमा राजनीतिक शक्ति बन्ने योजना थियो । मधेशवादी र जनजातिको एजेन्डा लिएको पार्टीको नेता बाबुरामलाई बनाउने योजना समेत बन्यो । कम्युनिष्ट पृष्ठभूमिबाट आएकाहरु बाबुराम, उपेन्द्र देखि अशोक राई र राजेन्द्र श्रेष्ठ रहेको दललाई प्रभावशाली बनाउन खोज्दा देशको राजनीतिक कोर्स नै बदलिने घटनाक्रम विकास भयो । यसकारण पनि यो एकता धरमराईसकेको छ ।

समाजवादी पार्टी नेपाल सरकारमा रहेको अवस्थामा सरकार छाड्ने र त्यहीं रहने विषय विवादमा परेको छ । उपेन्द्र कुनै हालतमा सरकार छाड्ने पक्षमा छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा सरकारमा बसेर विरोध गरेमा हटाइदिने चेतावनी दिएपछि उपेन्द्र अमेरिका उडेर पद जोगाउन पुगे । यस घटनाले उपेन्द्र पक्षधर सरकार छाड्दैनन् भन्ने देखिइसकेको छ । बाबुराम भट्टराईले सरकार छाड्न दबाब सृजना गर्दा समेत नलागेपछि विवाद चुलिएको छ । यसले एकता भएको केही महिनामै धाँजा फाटेको छ ।

एसडी मुनीको डिजाइनमा भएको एकता धरापमा परेपछि बाबुरामसँगै गएका कतिपय नेता कार्यकर्ता पार्टी छाड्ने अवस्थामा पुगेका छन् । उपेन्द्रलाई पनि छाड्नेहरु देखापर्न थालेका छन् । अशोक राई र राजेन्द्र श्रेष्ठ जस्ता नेताहरुका विश्वासपात्र पनि विचलित भइसकेका छन् । यसले समाजवादी पार्टी कुनै पनि समय चकनाचुर हुने अवस्था सृजना भएको छ । मुनीको योजना अनुसार बाबुराम भट्टराईलाई मधेशवादी र जनजातिको नेता बनाएर चुनाव जिताएर प्रधानमन्त्री बनाउने रणनीति समेत तुहिन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्