काठमाडौं, ९ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र चीनपरस्त र भारतपरस्तको विषयले फेरि प्रवेश पाएको छ । चीनसँग नजिक हुने कि भारतसँग नजिक हुने भन्ने विषयमा पार्टीका प्रभावशाली नेताहरु नै विभाजित भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितलाई डाकेर प्रशिक्षण दिएपछि नेकपाभित्र ध्रुवीकरण बनेको हो । अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड चीनसँग नजिकिएका छन् । दुवैले सी जिङपिङको विचारधाराको प्रशंशा गर्दै यसलाई पार्टीको विचारधारामा समेत समेट्ने विषयमा जोड दिएका छन् । तर, माधवकुमार नेपाल चीनसँग नजिकिएकोमा सन्तुष्ट छैनन् ।
नेपाल सन्तुलित सम्बन्ध छाडेर चीनसँग नजिकिंदा पार्टीलाई भविष्यमा नोक्शान पर्ने पक्षमा उभिएका छन् । तर, उनलाई साथ दिने नेताहरुको संख्या निकै कम देखिएको छ । यसकारण नेकपाभित्र माधवकुामर नेपाल एक्लिएका छन् । वरिष्ठ नेता समेत रहेका नेपाल तेस्रोबाट चौंथो वरियतामा झारिएपछि उनी पेलाईमा परेको सन्देश प्रवाह भइसकेको थियो । उनलाई झारेर झलनाथ खनाललाई तेस्रो वरियतामा राखिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्ड दुवै सक्रिय भएका थिए । दुवैले भ्रमण गराउन चिनियाँ कम्युनिष्ट पार्टीलाई निम्त्याउने देखि प्रशिक्षण समेत दिन पहल गरेका थिए । यसमा झलनाथ खनाल पनि सहमत भएका थिए ।
नेकपाभित्र चीनलाई खुशी पार्न इन्डो प्यासिफिकको विरोधमा ओलीभन्दा बढी प्रचण्डनिकट नेताहरु बोल्न थालेपछि । त्यसपछि प्रचण्ड आफै बोले । यसैलाई लिएर सत्तारुढ नेकपाभित्र को कुन पक्षको भनी कित्ताकाट समेत बनेको छ ।
यतिबेला नेकपाभित्र चीन पक्ष हावी भएको विश्लेषण भइरहेको छ । पश्चिमा निकट र भारत निकटहरु पेलिएको देखिदैछ । यसकारण पनि कुनैबेला तत्कालिन नेकपा एमालेका महासचिव भइसकेका माधवकुमार नेपाल एक्लिएका छन् । तर, उनले विकसित घटनाक्रमबाट लाभ लिए बाजी मार्ने रणनीति बनाएका छन् ।