काठमाडौं, ९ असार । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी एउटा कार्यक्रममा निकै जोस्सिए । सधै हँसी मज्जा गरेर बोल्ने पुरी कार्यक्रममा निकै गम्भीर देखिए । जोस्सिएर कडा भाषणा गरे ।
काश्मिरको विषयमा भारतले चालेको कदमबारे राजधानीमा अन्र्तक्रिया थियो । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेस्नल ल कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका प्रमुख वक्ता थिए राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका प्रचार विभाग प्रमुख अरुण कुमार ।
काश्मिर मामलाका विज्ञ समेत रहेका उनले काश्मिरको विषयबारे प्रस्तुती गरेपछि प्रश्नोत्तरको समय भयो । मञ्चमा रहेका अरुण कुमार र डा. रामकृष्ण तिमिल्सिनाले उत्तर दिएपछि नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले माइक मागे ।
राजदूत पुरीले जोसका साथ भने, ‘काश्मिर भारतको थियो, छ र रहिरहनेछ जुन शास्वत सत्य हो ।’ राजदूत पुरीले काश्मिरको जनताको हितमा भारत सरकारले कदम चालेकाले संसाभरको समर्थन आइरहेको बताए । उनले भने, ‘संसारभरका सबै सहमत हुनुपर्छ कि काश्मिरको समस्या समाधान भएको छ ।’
जम्मु काश्मिर भारतको अभिन्न अंंग भएको उल्लेख गर्दै भने, ‘यो भारतको संवधानमा स्पष्ट उल्लेख छ । युएन रिजोलुसनमा पनि पारित भएको छ ।’ काश्मिरको विषयमा तोडमोड गर्ने क्रियाकलाप भइरहेको बताए ।
काश्मिरबारे भारतको कदम त्यहाँको जनताको पक्षमा रहेको जान्दाजान्दै त्यसलाई नजाने जस्तो गर्नेहरु भएको बताए । उनले भने, ‘दुनियाँमा केही थाहापाएर पनि नथाहापाए जस्तो गर्छन् । जानकारी भएपनि नभएजस्तो गर्छन् ।’
अब काश्मिरमा आतंकवाद अन्त गरी विकासमा केन्द्रित हुने उनको भनाई थियो । भारत र भारतको जनता समृद्ध जम्मु काश्मिर होस् भन्ने चाहन्छन् भन्दै त्यही दिशातर्फ अगाडि बढ्ने बताए ।
तस्विर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम