Logo

नेपालमा पाकिस्तानको बढ्दो प्रभाव



काठमाडौं, ११ असोज । नेपाली राजनीतिमा भारत, चीन, अमेरिका र यूरोपेली युनीयनको प्रभावबारे आम नागरिक समेत जानकार छन् । तर, यहाँ पाकिस्तानको प्रभावबारे कमैलाई जानकारी हुनसक्छ ।

नेपालको राजनीतिक, प्रशासनिक देखि सुरक्षा निकायसम्म पाकिस्तानको प्रभाव बढ्दै गएको छ । उसले नेपालको कुटनीतिलाई प्रभावित बनाएको घटनाक्रमले देखाउँदै लगेको छ जसप्रति नेपाल मामलाका जानकार विदेशीहरुले बोल्न थालिसकेका छन् ।

नेपाल मामलाका जानकार भारतीय विद्धान निहार नायकले नेपाल आएर पाकिस्तानले नेपालको राजनीतिमा प्रभाव बढाएको टिप्पणी गरे । उनले भने, ‘पाकिस्तानले नेपालको कुटनीतिलाई म्यानुपुलेट गरिरहेको छ ।’ यसका लागि पाकिस्तानले मात्र १० करोड रुपैयाँ मात्र खर्च गरेको समेत खुलाए । उनले भने, ‘दश करोडको भरमा उसले नेपालको कुटनीतिलाई म्यानुपुलेट गरिरहेको छ ।’

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले थाइल्यान्डमा भएको सुरक्षा सम्मेलनमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटी आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएको विषयलाई लिएर पाकिस्तानले उनीविरुद्ध लबिङ नै थाल्यो । उसले आफ्नो खुफिया एजेन्सी आइएसआइलाई परिचालित गरी आइजीपी खनाललाई पदबाट बर्खास्त गर्ने रणनीति नै बनायो । यो रणनीति अनुसार प्रोपोगान्डा मच्चाउने देखि आइजीपी खनाललाई ुकुनै काण्डमा मुछेर हटाउने सम्मका गतिविधि भए ।

यो रणनीतिको रिपोर्टर्स नेपालले भण्डाफोर गरेको छ । नेपाल सरकारका महत्वपूर्ण व्यक्तिहरु सम्म रणनीतिबारे प्रमाणसहितको विषय पुगेपछि आइजीपी हटाउने कदम पछि हटेको छ । तैपनि, आइजीपी हटाउन एउटा समूह नै सक्रिय भएको छ ।

पाकिस्तानले नेपालमा छिमेकविरोधी भावना बढाउन गतिविधि बढाइरहेको छ । यसबाट उसले अन्तर्राष्ट्रिय लाभ लिन खोजिरहेको छ । दक्षिण एशियाको कुनैपनि देशबाट साथ नपाएको पाकिस्तानले नेपालबाट साथ पाइरहेको सन्देश प्रवाह गर्न खोजेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot