Logo

चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित्, भारतलाई साथमा लिनुपर्ने अडान !



काठमाडौं, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतसँग सुमधुर सम्बन्ध कायम गरेर जानुपर्ने पक्षमा छन् । पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको बेला अध्यक्ष दाहालले भारतलाई माईनस गरेर जान नहुने कुरा पार्टीका आफूनिकट नेताहरुलाई बताउन थालेका छन् ।

चिनियाँ विदशेमन्त्रीको भ्रमणलगत्तै काठमाडौंमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधाराबारे बहस भएपछि नेपालमा राजनीतिक सरगमी ह्वात्तै बढेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त वर्तमान सरकार र नेकपा एकदलीय शासन प्रणालीतर्फ उन्मुख हुन कोशिस गरिरहेको आरोप लगाएको छ । सि विचारधारा सापट लिनुपर्ने अवस्थामा नेकपा पुगेको भन्दै कांग्रेस नेताहरुले पछिल्लो समय खरो टिप्पणी गरिरहेका छन् ।

प्रशिक्षणका क्रममा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सहमति भएको थियो । उक्त सहमति हस्ताक्षर कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव कुमार नेपाल उपस्थित् भएको विषयमा पनि चौतर्फी टिकाटिप्पणी भएको छ । देश–देशबीचको सहमतिजसरी प्रधानमन्त्री उभिनु गम्भिर भएको कांग्रेस नेता अर्जुननरसिंह केसीको आरोप छ । उनले त चीनले नेपालमा सि विचारधाराको दक्षिण एशियामै पहिलो प्रयोगशालाको रुपमा नेपाललाई प्रयोग गरेको आरोप लगाएका थिए ।

यी यावत विषयहरु सार्वजनिक रुपमै बहस र विवादको विषय भनेपछि नेपालस्थित् अमेरिकी राजदुत र चिनियाँ राजदुतले पनि राजनीतिक सक्रियता बढाएका छन् । काठमाडौंमा कुटनीतिक–सरगमी अस्वभाविक रुपमा तातेको छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतसँग सम्बन्ध विस्तार गर्ने तयारीमा लागेका छन् ।

स्रोतकाअनुसार अध्यक्ष दाहालले पछिल्लो समय चिनियाँ गतिविधि अस्वभाविक रुपमा बढेको भनेर आफूनिकट नेताहरुसँग चिन्ता व्यक्त गर्न थालेका छन् । उनले ती नेताहरुसँग भनेका छन्,‘भारतलाई चिढ्याएर नेपालको हित हुँदैन् । झन् विकास र समृद्धिमा त भारतको साथ अनिवार्य छ । भारतसँगको सम्बन्ध कायम राखेर जानुपर्छ ।’ उनले नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित र आपसी हितमा सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot