Logo

‘ज्ञानेन्द्र’ नामसँग सत्तारुढ दलका नेता कार्यकर्ताको आक्रोश



काठमाडौं, १२ असोज । अहिले देशमा एउटा नामसँग सत्तारुढ दलका नेता कार्यकर्ताको आक्रोश बढ्न थालेको छ । नाम एउटै भएपनि दुई भिन्न पात्र हुन् । त्यो हो ज्ञानेन्द्र ।

पहिलो ज्ञानेन्द्र शाह पूर्व राजा हुन् । उनलाई नागार्जुनबाट हटाइदिने चेतावनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले बारम्बार दिएका छन् । शाहलाई ज्यादा सक्रिय नहुन चेतावनी दिदै नागार्जुनबाट समेत हटाइदिने चेतावनी दिएपछि राजनीतिमा तरंग आयो । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ज्ञानेन्द्र शाहलाई राजनीतिक सक्रियता नदेखाउन चेतावनी दिए । राजतन्त्र फर्काउन सक्रिय भएको आरोप लगाउँदै शाहले अराजकता मच्चाउन खोजिरहेको आशंका समेत गरेर सबै दललाई बोलाएर सचेत गराए ।

अर्का पात्र हुन् ज्ञानेन्द्र शाही । भ्रष्टाचार अभियन्ता शाहीमाथि एक महिनाबीच दुईवटा आक्रमण भयो । पहिलो आक्रमण काठमाडौंमा भयो र अर्को आक्रमण चितवनमा भयो । शाहीलाई सत्तारुढ दलका कार्यकर्ताले काठमाडौंमा आक्रमण गरे । चितवनमा भएको आक्रमणको दोषीको यकिन भएको छैन । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट कार्यकर्ताका कार्यकर्तामाथि दोष लगाइसकेको छ ।
नेकपा अध्यक्ष प्रचण्डले स्यालहरुलाई तह लगाउन आफूले जानेको भनेर भाषण दिएको दिननै ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको छ । यो घटनाले देशमा गम्भीर आक्रमणको घटनाहरु बढ्ने संकेतहरु देखापरेको छ । सत्तारुढ दल आलोचित भएको छ । चितवन, कास्कीलगायतका जिल्लामा ज्ञानेन्द्र शाहीलाई सत्तारुढ दलका कार्यकर्ताले निषेध गरेका थिए । निषेधको राजनीतिले देशमा गम्भीर अवस्था आउनसक्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot