Logo

प्रदिप पौडेलले गरे ज्ञानेन्द्रमाथिको आक्रमणको निन्दा, अंरिगालहरूलाई ख़्याल होस भन्दै दिए चेतावनी



काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले लगत्तै अर्का युवा नेता प्रदीप पौडेलले पनि सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथिको आक्रमणको निन्दा गरेका छन् । नेता पौडेलले आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै शाहीमाथिको आक्रमणको निन्दा गरेका हुन् ।

उनले स्टाटसमा भनेका छन्,‘अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा ग़लत छ। चाहे जुन सुकै बाहानामा होस कसैले कसैको पनि स्वतन्त्र रूपमा बिचार राख्न पाउने अधिकारलाइ हनन गर्न सक्दैन।ज्ञानेन्द्र शाहिको बिचार संग असहमत हुन पाइन्छ तर उनलाइ बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न पाइदैन। कुटेर आवाज बन्द गर्न सकिदैन अंरिगालहरूलाई ख़्याल होस।’

शाहीमाथि शुक्रबार भरतपुरको चौविसकोठीमा नेपालका लागि नेपाली अभियानले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ ल्याईएको हो । तर, शाहीको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिएका थिए । शाहीले काठमाडौँको अस्पतालमा उपचार गर्न चाहेकोले नै उनलाई यहाँ ल्याईएको बताइएको छ । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या छ । आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिएका थिए ।

प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ । शाहीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए । झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए ।



प्रतिक्रिया दिनुहोस्