पर्वत कलाकार समाज नेपालले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा विजय दशमी २०७६ को अवसरमा “पर्वत संगीत साँझ” को आयोजना हुने भएको हो । यो संगठन पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन हो ।
यो संगठनले पहिलोपटक ‘कलाकार समाजका आदर्श हुन्’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै १६ असोज सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । यस कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाइएको छ । दिउसो २ः३० बजेबाट शुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।
कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् । अतिथी कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुती रहने जनाइएको छ भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना प्रमूख अतिथी रहनेछन् ।
यस कार्यक्रममा गैर आवसीय नेपाली संघ एनआरएनएका केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीसहितको टोली पनि काठमाडौं आउँदै छन् । पर्वत जिल्लाका जनप्रतिनिधीहरुको समेत उपस्थिती रहने जनाइएको छ । यो कार्यक्रममा गायकद्वय कुलेन्द्र बिश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाइएको छ ।
कार्यक्रमलाई नेपाल टेलिकम, आईएमई, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, सेन्चुरी बैंक, सेभेनस्टार ट्राभल, देउराली जनता फर्मासेट्युकल्स, हाईलाईट्स नेपाल लगायतका विभिन्न बैंक, वित्तिय संस्थाहरु तथा अन्य संस्थाहरुले सहयोग गरेका छन् । Photo Source: Filmyzoom