रिपोर्टर्स नेपाल, १३ असोज । ज्ञानेन्द्र शाहमाथि कुटपिट भएपछि त्यसको विरोधमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले कडा प्रतिक्रिया दिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीप्रति संकेत गर्दै कायरतापूर्ण आक्रमण भने । यसको हिसाबकिताब माग्नुपर्ने सम्म भने ।
गगनले ट्वीटमा लेखे, ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गनेृ विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन् । अब हिसाबकिताब यीनैसँग माग्नुपर्छ ।’
शनिबार चितवनमा निर्घात कुटिएका ज्ञानेन्द्र शाहको विषयमा नेपाली काँग्रेसबाट कडा भनाईहरु आउन थालेपछि नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुकमा अराजकतावादीलाई समर्थन गरेको भन्दै नेपाली काँग्रेसको आलोचना गरे । सोमबार फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन जोखिम ।’
गगनले काँग्रेस नेता डा. मीनेन्द्र रिजालमाथि आक्रमणको प्रयासपछि फेसबुकमा फेरि लेखे । उनले ज्ञानेन्द्र शाहीमाथ आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्दा काँग्रेसी भनेर कोही नबोल्ने भन्दै भोलि आफ्नै मुख बन्द गर्दा बोल्दिने कोही नहुने टिप्पणी गरे ।
गगनको कडा अभिव्यक्ति र सामाजिक सञ्जालमा नेकपामाथिको आक्रोशयुक्त टिप्पणीपछि योगेशले काउन्टर दिने गरी लेखेका हुन् । अहिले सामाजिक सञ्जालमा दुई नेताबीच जुहारी चलेको छ । विगतमा पनि यी दुई नेताबीच जुहारी चलेको थियो ।