Logo

प्रसुतिगृहको लापरवाहीको कारण छोरा गुमाएँ, श्रीमतीको दुवै मृगौला ड्यामेज भयो : अम्मर परियार (भिडियोसहित)



‘निर्देशकलाई कडा कारबाही हुनुपर्छ र सम्पूर्ण उपचार खर्च प्रसुतिगृहले व्यहोर्नुपर्छ’
काठमाडौं, १३ असोज । धादिङ गल्छी गाउँपालिका वडा नम्बर–४ का अम्मर परियारले काठमाडौं थापाथलीस्थित् प्रसुतीगृहका निर्देशक डा. जागेश्वर गौतमको लापरवाहीको कारण आफूले छोरा गुमाएको आरोप लगाएका छन् । त्यतिमात्रै होईन, आफ्नी पत्नीको स्वास्थ्य अवस्थासमेत नाजुक रहेको उनको विलौना छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अस्पतालका कर्मचारी र निर्देशक गौतमको लापरवाहीको कारण आफूले छोरा गुमाउनु परेको बताएका हुन् । उनले भने,‘हामीले गर्भवती भएको तीन महिनादेखि नै चिकित्सकको सल्लाहअनुसार निरन्तर रुपमा प्रसुतिगृहमा चेकजाँच गर्दै आएका थियौं । चिकित्सकले हप्तामा तीन पटक बोलाउँदा पनि हामी तीनै पटक अस्पताल पुगेको थियौं । तर, चिकित्सकले सुत्केरी हुने भनेर दिएको मितिमै हामी अस्पताल पुगेका थियौं । सुरुवातको चेकजाँचमा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो छ भनेर त्यहाँ आएका एक विदेशी चिकित्सकले पनि भन्नुभएको थियो । उहाँले नेपालीमै तिम्रो बच्चा एकदमै राम्रो छ भनेर भन्नुभएको थियो ।’

उनले अस्पताल भर्नाअघि आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भनिएकोले आफूहरु पनि राम्रैसँग बच्चा जन्मिनेमा विश्वस्त रहेको सुनाए । तर, अस्पताल भर्ना (भदौ २० गते) गरेकै दिनमा पनि त्यहाँ खटिएका नर्सहरुले पनि हेलचेक्र्याँई गरेको उनको आरोप छ । उनले भने,‘आमाको स्वास्थ्य अवस्थामा केही गडबढी भएपछि मैले नर्सहरुलाई बोलाएर उनको अवस्थाबारे जानकारी गराएको थिएँ । तर, उनीहरुले चिकित्सक बोलाउनुको साटो उल्टै मलाई हप्की र दप्की गरे ।’ उनकाअनुसार भर्ना भएको भोलिपल्ट श्रीमतीलाई राति ९ बजेपछि सुत्केरी–व्यथा लागेको थियो ।

उनले उक्त दिनको घट्ना यसरी सुनाए,‘श्रीमतीलाई निकै रक्तश्राव भएको थियो । मैले त्यहाँका नर्सहरुलाई चिकित्सक बोलाईदिनुहोस, उनलाई गाह«ो भएको छ भनेर पटक पटक बिलौना गरें, तर उनीहरुले यस्तै हुन्छ, तपाईलाई भन्दा हामीलाई थाहा छ भनेर थर्काए । भोलिप्लट विहान साँढे ८ बजेसम्म बच्चाको धड्क राम्रैसँग चलिरहेको कुरा स्वयम नर्सहरुले हामीलाई जानकारी गराउनुभएको थियो । त्यही बेला मैले एकजना चिकित्सकलाई काउन्टरमा भेटें, श्रीमतीको गाह«ो अवस्थाबारे जानकारी पनि गराएँ । तर, उहाँले पनि हेर्नुभएन् ।

राउण्डमा आउने चिकित्सकले हेर्नुहुन्छ म व्यस्त छु भन्नुभयो । त्यसको एक घण्टाभित्रै श्रीमतीलाई भित्र सुत्केरी वाडमा लगियो र लगत्तै चिकित्सकले मसँग बच्चा र आमाको कपडा माग्नुभयो । मैले पनि तुरुन्तै उपलब्ध गराएँ । खुशी हुँदै म बाहिर प्रतिक्षामा थिएँ । तर, आधा घण्टा नबित्दै फेरि चिकित्सकले मलाई बोलाउनुभयो र तिम्रो बच्चाको धड्कन छैन भनेर जानकारी गराउनुभयो । र, नर्मल डेलिभरी हुन्छ कि भनेर उहाँहरुले एक घण्टा वेट गर्नुभयो । फेरि बोलाउनुभयो । र, बच्चा मरिसकेको छ र शल्यक्रिया गरेर निकाल्नुपर्छ भन्नुभयो । त्यसपछि म छाँगाबाट खसें ।’

बच्चाको निधन भएपछि चिकित्सकले श्रीमतीको पाठेघर नै फुटेको भनेर प्रतिक्रिया दिएको पनि उनले सुनाए । त्यसको दुई दिनसम्म अस्पतालमै राखेको पनि उनले जनाए । उनले भने,‘प्रसुतीगृहले रिफर गरेपछि मैले श्रीमतीलाई सिनामंगलस्थित् के.एम.सी. लगें । अहिले श्रीमतीको अवस्था नाजुक छ । के.एम.सीमा मैले चार लाखभन्दा बढि खर्च भएको छ । श्रीमतीको दुवै मृगौलाले काम गर्न छोड्यो ।’

परियारले प्रसुतिगृहजस्तो पूरानो र विश्वासिलो संस्था भनेर आफूहरु उपचारको लागि त्यहाँको गएको सुनाए । तर, अस्पतालले हेलचेक्र्याँई गर्दा आफूले छोरा गुमाएको र श्रीमीको स्वास्थ्य अवस्था नाजुक रहेको उनको भनाई छ । उनले प्रसुतिगृहको लापरवाहीको कारण श्रीमतीको दुवै मृगौला खराब भएकोले सम्पूर्ण उपचार खर्च प्रसुतिगृहले नै व्यहोर्नुपर्ने पनि माग गरे ।

कार्यक्रममा के.एम.सीमा उपचार गराईरहेकी भूमिका सापकोटा परियारकी दिदी शोभा तामाङले पनि प्रसुतीगृहको लापरवाहीको कारण बच्चा गुमाउनुपरेको सुनाईन् । लापरवाही गर्ने प्रसुतिगृहका निर्देशक र नर्सहरुलाई कारबाही गर्नुपर्ने पनि उनको माग थियो ।



प्रतिक्रिया दिनुहोस्