काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सभामुख कृष्णबहादुर महारामाथि लागेको आरोपबारे छानविन हुँदासम्म सभामुख पदबाट राजिनामा दिनुपर्ने बताएका छन।
उनले सभामुखमाथि लागेको आरोपले सिंगो संसद र सांसदलाई स्तब्ध पारेकाले सभामुख महरामाथिको आरोपबारे अनुसन्धानमा सघाउन सभामुखले पदबाट बारिह बस्नुपर्नेमा जोड दिएका छन् ।
रिर्पोट्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा सांसद थापाले भने ‘सभमुखमाथि जे आरोप लागेको छ, त्यो मित्थ्याहोस्, संलग्न नभएको प्रमाणित होस् भन्ने मेरो चाहना छ, तर यस्तो गम्भिर आरोप लागेकाले अनुसन्धानमा सघाउँछु भनेर सभामुख महराले पदबाट अलग हुनुपर्छ।’
संसदमा सबैभन्दा बढी सरकारको कडा रुपमा आलोचना गर्ने थापाले सभामुखमाथि यौन दुव्र्यहारको आरोप लाग्दा देशकै बेइज्जत भएको बताए।
उनले यो आरोपले राजनीति र नैतिकमाथि ठूलो प्रश्न उब्जाएको बताए। ‘आरोपले म स्तब्ध छु, सिंगो संसदलाई स्तब्ध पारेको छ’ नेता थापाले भने ‘आरोप लगोपछि दूधको दूध पानीको पानी छुट्याउनुपर्छ।’ उनले सभामुख महरामाथि पनि आम मानिसलाई जस्तै प्रचलित कानुन अनुसार अनुसन्धानको माग गरे।
उनले आरोप लगाउने महिलाले आफूलाई समेत फोन आएको बताउँदै हवाईजहाजमा भएकाले कुरा हुन नपाएको बताए। उनले सभामुख जस्तो पदमा रहेको व्यक्तिलाई गम्भिर आरोप लागेकाले यसमा प्रहरी प्रशासनले प्रचलित कानुन अनुसार आम मानिसलाई जस्तै गरी अनुसन्धानको माग गरे।
‘यौन हिंसाको आरोप लागेका व्यक्तिलाई जस्तो अनुसन्धान र व्यवहार प्रहरीले गर्छ, त्यसै गरि अनुसन्धान गर्नुपर्छ‘ नेता थापाले भने।
उनले पछिल्लो समय प्रहरी प्रशासन पनि सरकारको अपराध लुकाउन संलग्न भएको पाइएकाले त्यो शाखलाई बचाउने बेला आएको बताए।