बैतडी, १४ असोज (रासस) :दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो पुख्र्यौली थलोमा फर्कनेलाईसमेत समस्या भएको छ ।
जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताए । सडक हिलाम्य हुँदा दशैँका लागि घर फर्कने तथा पुख्र्यौली घरमा आउनेहरु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उनले बताए ।
यस्तै देहीमाडौंँ गिरेगडा सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ठाउँठाउँमा सडक चिप्लो भएकाले यात्रा गर्न निकै असहज हुने गरेको स्थानीय पदमराज जोशीले जानकारी दिए । सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको चालक किशोर मडैले जानकारी दिए ।
लगातारको वर्षात्ले सडकमा गाडी गुडाउन असहज भएको छ । यस्तै श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल लगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ । दशैँको मुखमा वर्षा भएकाले दशैँका लागि तराईबाट पहाड झरेकालाई गन्तव्यमा पुग्न मुस्किल भएको छ । कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ ।
घर फर्कनेको लर्को
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ । दशैँ शुरु भएसँगै रोजगारीका लागि मुग्लान पसेका घर फर्किन थालेका हुन् ।
सीमावर्ती भारतीय शहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन् । सीमा नाकाबाट आजभोलि दैनिक ४०० बढी नागरिक स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक जनकसिंह धामीले बताए ।
गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको उनले बताए । करीब ६ महीनाअघि भारतको पिथौरगाढ कामका लागि पुग्नुभएका बझाङको बित्थडचीर गाउँपालिका सुनकुडाका परमानन्द जोशी दशैँका लागि घर फर्किनुभएको छ ।
गाउँघरमा दशैँको बेला मठमन्दिरमा पूजाआजा हुने गरेको र गाउँका सबै मानिससँग भेटघाट पनि हुने गरेकाले आफू घर फर्केको उनले बताए । सीमापारी भारतीय बजारबाट नेपाली बजारमा सामग्री ढुवानी गर्ने कामदार पनि दशैँका लागि घर फर्केका छन् ।
यसैबीच सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर झुलाघाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेका छन् । नेपाल प्रहरीले स्वास्थ्यकर्मीसहितको सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
सीमाबाट फर्किने नेपालीलाई दशैँको बेला दुःख नहोस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो । यात्रु सहायता कक्षका कारण सजिलो भएको घर फर्किने नागरिकले महसुस गरेका छन् ।
अन्य समयको भन्दा यात्रु सहायता कक्षले नागरिकलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले
बताए ।