Logo

दशैँमा पनि भएन व्यापार



जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो ।

यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताए । टोलटोलमा राम्रा सपिङ सेन्टर खुलेपछि बजार आउने क्रम घटेको उनको भनाइ छ । अनलाइन सपिङ, आवश्यक भन्दा बढी पसललगायतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याइ रहेको छ ।

किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष ईश्वरीप्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको बताए । गत वर्षको भन्दा आधा पनि व्यापार यसवर्ष नभएको उनको भनाइ छ । सामान मगाएर बिक्री गर्न व्यवसायी डराएको भन्दै उहाँले विभिन्न नाममा बुझाउनुपर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताए । व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्ने हो खरालले प्रश्न गरे ।

व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायी धानीन मुस्किल भएको बताए । फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता ‘मल’ र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने सङ्ख्या घटेको बताएका छन् । विगत २६ वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएका अर्याल अघिल्ला वर्षको तुलनामा खर्च दोब्बर भएको तर व्यापार आधा भएको बताए । पुरानो पसल भएकाले पसलनै बिक्री गर्न खोज्दा बिक्री नहुने र व्यापार पनि नहुने भएकाले धानेर कति दिन बस्ने अन्योलमा परेको आर्यलले गुनासो गरेका छन् ।

एउटै फेन्सी पसलमा रु ५० लाख भन्दा बढी लगानी हुने भन्दै उहाँले त्यसको ब्याज, बढ्दो घरभाडा र कर्मचारीको पारिश्रमिकका कारण व्यवसायी दिनानु दिन धरासयी बन्दै गरेको बताए ।

कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताए । थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उहाँको भनाइ थियो । बाउबाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उनले भने , “जानेको यही हो । छोडेर के गर्नु । फसेको फस्यै भइयो । ”

नारायणगढ बजारमा सीमित स्थानमा मात्र पार्किङ् रहेको छ । तीनपाँग्रे सवारी सञ्चालन गर्न पाइदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यससँगै एउटै सटरको भाडा रु ५० हजारसम्म पर्ने गर्दछ । जसका कारण बिक्री मूल्य बढी हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाइँ बजार कम हुँदै गएको छ ।

भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजी मल शुरु भएको छ । भाटभटेनीमा आवश्यक सबै सामग्री एकै स्थानमा पाइन्छ । सिजीमा ब्राण्डेड सामग्री पाइन्छ । दुवै स्थानमा पार्किङ्को सुविधा रहेको छ । ती ठाउँ वातावरण अनुकूलित भएकाले ग्राहकको रोजाइँमा परेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot