काठमाडौं, १४ असोज । तत्कालिन नेकपा माओवादीभित्र जो यौनकाण्डमा पर्थे तिनीहरुमाथि कडा कारबाही हुन्थ्यो । यसरी यौनकाण्डमा परेर श्रम शिविरमा राखिंदा कतिपयको मृत्यु भएको घटना पनि छ । माओवादीभित्र यौन अराजकता बढेपछि तत्कालिन अध्यक्ष प्रचण्डले कडा नीति लिएका थिए ।
यौनकाण्डमा मुछिएर एकजना वरिष्ठ माओवादी नेताको रहस्यमयी निधन भएको थियो । उनी थिए आलोक गौतम । आलोकलाई माओवादीभित्र भविष्य बोकेका प्रभावशाली नेताका रुपमा चिनिन्थ्यो । तर, उनी यौनकाण्डमा मुछिएपछि श्रम शिविरमा राखिए जहाँ उनको निधन भएको पुस्तकहरुमा समेत उल्लेख गरिएको छ ।
यौनकाण्डमा कारबाहीमा परेका कतिपय माओवादी नेताहरु अहिले प्रभावशाली बनेका छन् । राजनीतिको महत्वपूर्ण पदमा पुगेका छन् । उनीहरुमाथिको कारबाही त्यतिबेला माओवादीनिकट पत्रपत्रिकामा समेत प्रकाशित हुन्थ्यो ।
माओवादीका पालामा यौनकाण्डमा धेरै कारबाहीमा परे । तर, कृष्णबहादुर महरा बचे । उनै महरा सभामुख हुँदा यौनकाण्डमा मुछिएका छन् ।
अहिले निवर्तमान सभामुख महरा उनले चिनेजानेको महिलासँगको यौनकाण्डमा मुछिएको घटनाले राष्ट्रिय चर्चा मात्र पाएन उनी राजीनामा दिन वाध्य भए ।
तर, घटना मोडिइसकेको छ । जसले महरामाथि जर्बजस्तीको आरोप लगाइन् उनी आफैले त्यसको खण्डन गरेकी छिन् । सोमबारसम्म सामान्य अवस्थाकी उनी रातभर आफूलाई मानसिक समस्या भोगिरहेको भन्न थालिन् । जसलाई उनले जर्बजस्तीको आरोप लगाइन्, उनलाई पिता समान भन्न थालिन् ।
तर, बयानका आधारमा मात्र घटना पुष्टि हुँदैन । कानुनले दसीप्रमाण खोज्छ । अब महराले खण्डन गरुन् या आरोप लगाएर अहिले आफै खण्डन गर्ने रोशनी शाहीले जे बोलुन्, घटनाको निष्पक्ष छानविन भई प्रमाणका आधारमा दोषी को ? निक्र्यौल हुन्छ । कानुनले प्रमाण खोज्ने भएकाले प्रहरीले यसबारे छानविन गरेपछि निष्कर्ष निकाल्न सक्छ । बयान फेरिदैमा घटनाको वास्तविकता फेरिदैन किनभने गहिरो छाविनले यसको टुंगो लगाउँछ ।