Logo

महराको राजीनामापछि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादीबीच शंका आशंका



काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी धारबीच शंका आशंका बढेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलालाई जर्बजस्ती गरेको आरोपमा मुछिएर राजीनामा दिन वाध्य भएपछि शंका उपशंका उब्जिएको हो ।

पूर्व माओवादी प्रचण्ड पक्षधरले पूर्व एमाले पक्षधरले आफूहरुलाई एकपछि अर्को गर्दै फसाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् । रिपोर्टर्स नेपालसँग कुरा गर्दै प्रचण्ड पक्षधर एक प्रभावशाली नेकपा नेताले पछिल्लो घटनाक्रम केलाउँदा पूर्व माओवादीमाथि एकोहोरो प्रहार भइरहेको बताए । उनले भने,’यसरी एउटा पक्षलाई मात्र प्रहार गरिनुले शंका उब्जाएको छ ।’ ती नेताले रवि लामिछाने पक्राउ प्रकरणमा अध्यक्ष प्रचण्डलाई बदनाम गर्न खोजिएको, ज्ञानेन्द्र शाहीलाई कुटपिट गर्दा पनि त्यस्तै गतिविधि गरिएकोलगायत शृंखलावद्ध घटनाले शंका जन्माएको टिप्पणी गरे ।

एकता भइसक्दा पनि दुई पार्टीबीच भावनात्मक एकता हुन सकिरहेको छैन । अहिले पनि पूर्व एमाले र पूर्व माओवादी भन्ने गरिएको छ । यहीबेलामा महरा जर्बजस्ती प्रकरणमा मुछिए । उनले राजीनामा दिएपछि पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले अब महराजी सभामुख रहनुभएन भनी गरेको टिप्पणीलाई पूर्व माओवादी पक्षधरले गम्भीरताका साथ लियो । महराका छोराले सैन्य पोशाक लगाएर सामाजिक सञ्जालमा पोष्ट गरे ।

एकपछि अर्को विवादास्पद घटनामा नेकपाभित्र पूर्व माओवादी पक्षधर तारोमा परेको विषयलाई प्रचण्डले पनि गम्भीरताका साथ लिएका छन् । मन्त्रीहरुमध्ये पनि पूर्व माओवादी पक्षधरहरु विवादमा मुछिएका छन् । मेलम्ची ठेक्का प्रकरणमा प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगर मुछिइन् । कृषिमन्त्री चक्रपाणी खनाल, आपूर्तिमन्त्री मातृका यादव पनि विवादमा तानिए ।

गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा पक्राउ परे । बादललाई समेत पन्छाएर प्रहरीमा महत्वपूर्ण सरुवा बढुवा हुनथालेको छ । यी घटनाक्रमले नेकपाभित्र शंका आशंका बढेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot