Logo

औषधि खरीदका लागि बजेट नहुँदा समस्या



झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन् ।

कारागारमा दमका रोगी, मुटुरोगी, एचआइभीका बिरामी पनि छन् । यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालू आर्थिक वर्षमा रु १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाइ छ । “यो बजेटले छ महीना पनि धान्दैन”, उनले भने , “साँघुरो बसाइँ, फोहरमैलालगायतका कारण उनीहरु बिरामी नभएको दिन नै हुँदैन ।”

उनले गत वर्ष सरकारले रु १८ लाख बजेट विनियोजन गरे पनि खर्च रु २० लाख भएको बताए । चालू आव २०७६-७७ मा पठाएको रु १३ लाख खर्चबाट गत वर्षको रु दुई लाख औषधिको बक्यौता तिरेको र बाँकी रहेको रु ११ लाखले मुस्किले छ महीना मात्र पुग्ने उनले जानकारी दिए ।

कैदीबन्दीमा प्रायःजसो छाला र भाइरल फिबरको समस्या भएको बताउँदै उनले भने , “दुई सय बढीमा यो समस्या थियो, स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाइ पाथीभरा अस्पतालको प्र्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ ।” विभिन्न परिबन्दमा परेर कैदी जीवन बिताइरहेकालाई पाथीभरा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले महीनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्