Logo

चिनियाँ विमानले गर्यो विमानस्थलको ‘रेकी’



काठमाडौं, १६ असोज। चिनियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ।

बोइङ विमानको उडान र अवतरणमा आउन सक्ने सम्भावित प्राविधिक कमी–कमजोरीबारे चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो।

बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

पूर्वअभ्यासकै लागि बुधबारको एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरी र विमानस्थलका कर्मचारीलाई अन्य दिनमा भन्दा बढी ‘हाई अलर्ट’ मा राख्दै विशिष्ट पाहुना आएकै झल्को दिने गरी खटाइएको थियो।

बेइजिङबाट आएको विमान १ बजेर ३५ मिनेटमा अवतरण गरेर दिउँसो साढे ३ बजे फर्किएको थियो। सो विमान अवतरण हुने समय आसपासमा अन्य विमान उडान र अवतरणमा समेत रोक लगाइएको थियो।

‘भीभीआईपीको भ्रमणमा हुने विशेष विमान उडान, अवतरण र विमानस्थलसँग जोडिएका पक्षबारे करिब दुई घन्टा रिहर्सल भयो’, विमानस्थल कार्यालयका एक अधिकारीले भने– ‘यो सबै तयारी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि भएको हो।’ आजको नेपाल समाचार पत्रमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्