घोराही, १६ असोज (रासस) : दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ ।
लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपिएको धानको नाम हो ‘गरिमा’ । किसान छविलाल चौधरीले मात्रै करीब १५ कट्ठामा खेतमा गरिमा जातको धान रोप्नुभएको छ । उहाँको खेतमा रोपिएको धान पसाएको छैन । अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “यो राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको त यस्तो परेछ ।” उनले भने , “बीउ किन्दा पनि अति राम्रो धान हो भन्दै रोप्न सुझाएकाले रोपेको हुँ । यस पटक धान भित्र्याउने नभई पराल भित्र्याउने अवस्था देखिएको छ ।”
मजगाउँका अर्का किसान पुरन चौधरीको व्यथा पनि उस्तै छ । उहाँले रोपेको धानले १०० दिन काटिसकेको छ तर पसाउने लक्षण देखिएको छैन । नौ कट्ठामा रोपेको धान खेतमा धान र घाँस बराबर छ । उहाँले भन्नुभयो, “धान रोपियो तर, अहिले बाला नै लागेन, यस्तो अचम्म अहिलेसम्म भएको थिएन ।” देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन् ।
यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन् । पसाउन नसकेको सबै धान गरिमा जातको धान हो । अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन् । खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो । यो धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए । “सय दिन पुगिसक्दा पनि धान अझै पसाएको छैन, अब धान फल्ला भन्ने अवस्था छैन ।” उनले भने , “कृषकको खेतमा धान नपसाएको भन्ने खबर थाहा पाएर खेतमै पुगेर अवस्था बुझेको छु ।”
कृषिज्ञान केन्द्र प्रमुख बस्नेतले धानको बोटको अवस्था हेर्दा धान पसाउने अवस्था नरहेको प्रष्ट देखिएको बताए । अबको मौसम चिसो हुँदै गएकाले धान पसाउन सम्भावना कम हुँदै गएको उहाँको भनाइ छ । गत वर्ष यही जातको धान रोपेका उनै कृषकले राम्रो उत्पादन गरेका थिए ।
दाङसहित चितवन, नवलपरासी, र बाँकेमा गरिमा जातको धानको बीउ बिक्री गरिएको थियो । बिक्री गरेका सबै ठाउँमा यही समस्या देखिएको छ । छिमेकीको खेतमा अन्य जातको धानको बाला झुलिसकेका छन् । तर, गरिमा धान रोपेका किसानको खेतमा धान बाला नलागेर ठाडो परेको छ । जसले गर्दा किसान निरास छन् ।
अन्य जातको बाला लागेको धान
उक्त जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे । धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रमुख सुनिता चौधरीसँग बुझ्दा उनले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइने गरेको बताए । उनले भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । तर यसको आधिकारिक टुङ्गो ल्याब टेष्टबाट हुने भएकाले अहिले नै यही हो भन्न सकिने अवस्था भने नरहेको उहाँको भनाइ छ । रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको देखिन्छ ।
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर टिकलीगढ, देउखुरीले विभिन्न छ वटा केन्द्रमार्फत गरिमा धानको बीउ बिक्री गरेको हो । कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले स्थलगत अध्ययन पछि बीउको ब्रान्डिङमाथि आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले गरिमा जातको धान भनेर अरु कुनै जातको धान त्रुटिवश आयात भएको हुनसक्ने बताए । खेतका आलीमा हेर्दा कहीँकतै दुईचार बोट धान फलेको हुँदा बीउमा मिश्रण भएको अनुमान लगाउन सकिने आधार देखिएको उनको भनाइ छ ।
अहिले धान फल्ने अवस्था नरहे पछि के गर्ने भन्नेमा अन्योल देखिए पनि बीउ वितरक र पीडित किसानबीच सहमतिमै क्षतिपूर्ति भराउने विषयमा पनि आन्तरिक छलफल भइरहेको छ । गरिमा जातको धान देउखुरीमा मात्रै करीब ८० बिगाहा क्षेत्रफलमा रोपिएको अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यसको उत्पादन अब नहुने भएपछि कृषकले न्यायोचित पहल गरिदिन र राहतको व्यवस्थापन गरिदिन सरोकार निकायसँग माग गरेका छन् ।