Logo

नेपालको स्वास्थ्य र शिक्षा माफियाको कब्जामा : डा. त्रिपाठी (भिडियोसहित)



काठमाडौं, १६ असोज । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र लगभग माफियाहरुको हातमा पुगेको कडा टिप्पणी गरेका छन् । उनले भने,‘संविधानमै स्वास्थ्य र शिक्षालाई मौलिक हकको रुपमा राखेको छ । राज्यले यो कुराको पूर्ण प्रत्याभुति र सुनिश्चितता गरेको छ ।’ संविधानमा समाजवाद र सामाजिक न्यायको कुरा गरिएकाले यो प्रति सरकार संवेदनशील हुनुपर्ने उनको तर्क छ ।

तर, पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रलाई अध्यधिक नाफाखोरलाई सुम्पिएको उनको आरोप छ । उनले भने,‘यो नागरिकप्रतिको गम्भिर धोकाधडी हो । म त भन्छु नेपालको शिक्षा र स्वास्थ्य त करिब–करिब माफियाको हातमा गैसकेको छ ।’ उनले यो क्षेत्रको सुधारको लागि डा. गोविन्द केसीले १६ औं पटकसम्म अनशन बसेको पनि टिप्पणी गरे ।

सरकारले माफियाहरुसँग घुँडा टेको पनि आरोप लगाए । उनले भने,‘सरकारको तर्फबाट नागरिकमाथि गम्भिर धोखाधडी भएको छ ।’ चिकित्सा शिक्षा विद्येयक पारित भएपनि यसलाई कागजको खोष्टा बनाईएको उनको टिप्पणी छ ।  त्यस्तै, उनले आयोग गठनमा पनि ढिलाई भएको सुनाए । ७५ प्रतिशत निःशुल्क छात्रावृत्ति नदिने प्रपञ्च गरिएकोमा आफूहरुले नै अदालतमा रिट हालेर दिलाएको पनि उनले सुनाए । सरकारको नियत नै ठिक नभएपछि कसैको केही नलाग्ने त्रिपाठीले बताए ।

वर्तमान सरकार संविधान कार्यान्वयनमा फेल भएको पनि उनको आरोप छ । उनले भने,‘देशमा प्रभावकारी पब्लिक हेल्थ नहुनु र पब्लिक एजुकेशन नहुनु नै राज्य असफल हुनु हो ।’ दुई तिहाईको सरकार भएर केही पनि नहुने भन्दै अन्तर्राष्ट्रिय नजरमा नेपाल असफल भैसकेको उनको दाबी छ ।

उनले थपे,‘जुन देशमा कानूनहरुले फंक्शन गरेको छैन् । त्यो देशको मेसेज विश्वभरि के भनेर गैरहेको छ? तपाई अनुमान गर्नुृहोस त ।’ उनले मेडिकल कलेजहरुले १२ लाख बढि शुल्क लिएको कुरा बाहिर आएको सुनाउँदै यो मेडिकल कलेज सञ्चालकहरुको माफियागिरी भएको सुनाए । उनले भने,‘उनीहरुले संगठित सिण्डिकेट गरिरहेका छन् ।’

स्वास्थ्य शिक्षा सेवाको क्षेत्र भएपनि यो सेक्टरलाई माफियाहरुले अपहरण गरेको उनको गम्भिर आरोप छ । उनले भने,‘राज्यले टेक–ओभर गर्नुपर्छ ।’ मेडिकल एजुकेशनको क्षेत्रलाई नाफारहित बनाउनुपर्ने उनको सुझाव छ ।

नेपालका राजनीतिक दलहरुको चुनाव खर्चको स्रोत नै यस्तै माफियाहरुबाट जुट्ने गरेको उनको आरोप छ । उनले भने,‘माफियाको हातमा यो कठपुतली सरकार परेको छ । अहिले दिनदाहाडै लुटतन्त्र मच्चाईएको छ ।’ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिएको विषयमा पनि उनले गम्भिर प्रश्न उठाएका छन् । बढि शुल्क लिनेलाई ठगको संज्ञा दिँदै उनले त्यस्तालाई ठगीको मुद्दा चलाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्