काठमाडौं, १७ असोज । कुनैपनि महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि उनको स्वास्थ्य परीक्षण हुन्छ । तर, रोशनी शाहीको स्वास्थ्य परीक्षण भएन । उनले परीक्षण गर्न नमानेको बताइएको छ ।
प्रहरीको हटलाइनमा १२ असोजको राति नै आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनी शाहीको कोठामा सोही राति प्रहरी पुगेको पुष्टि भइसकेको छ । महिला प्रहरीको कमान्डमा पुगेको प्रहरीले घटनास्थलको अवलोकन गरेको थियो ।
घटना भइसकेपछि तत्काल स्वास्थ्य परीक्षणका लागि तत्परता देखाउनुपर्नेमा त्यसो भएन । रोशनीले स्वास्थ्य परीक्षण गर्न नमानेको दाबी गरिएको छ । तर, यसमा प्रहरीले तत्परता नदेखाउनुमा गम्भीर आशंका उत्पन्न भएको छ । अर्कोतर्फ रोशनी स्वयंले भनाई फेरिन् । आफूमाथि बलात्कार नभएको र झडपमात्र भएको बताइन् । फेरि भनाई फेरेर महरा निर्दोष भएको बताइन् । यसले थप आशंका उत्पन्न भएको छ ।
रोशनीको अझैसम्म स्वास्थ्य परीक्षण भएको छैन । उनको पहिलो भनाईलाई आधार मानेर अनुसन्धान अगाडि नबढ्ने संकेत हो यो । स्वास्थ्य परीक्षण नगरी वास्तविकता केही खुल्दैन । उनीमाथि बलात्कार हो होइन पत्ता लगाउने बलियो प्रमाण स्वास्थ्य परीक्षण हुनसक्छ । उनले झुटो बोलेको हो भने पनि परीक्षणले पत्ता लाग्छ । तर, प्रहरी पोलिग्राफी टेष्ट गरेर झुट र सत्य पत्ता लगाउनतर्फ लागेको छ ।
बलात्कार हो होइन ? संसारभर बयानभन्दा स्वास्थ्य परीक्षणको रिपोर्टलाई प्रमाण मानिन्छ । कानुनले बयानभन्दा दसी प्रमाणलाई मुख्य आधार मान्छ । त्यसतर्फ ध्यान नजानुले घटनामा दोषी हो होइन भन्दा पनि बचाउने अभिप्राय देखिन थालेको छ । यस मामलामा कृष्णबहादुर महरा या रोशनीमध्ये एकजना जेल जाने अवस्था बनिसकेको छ । अब प्रहरी कसरी बढ्छ प्रतिक्षाको विषय बनेको छ ।