Logo

किन मौन छन् महरा ?



रिपोर्टर्स नेपाल, १७ असोज । महरा प्रकरण ! अहिले चर्चामा छ । १२ असोजको साँझ उनी तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप १३ असोजको साँझ बाहिर आएपछि नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा तरंग आयो । यसबारे क्रियाप्रतिक्रिया आयो । तर, घटनाका आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महरा मौन बसे ।

१४ असोजमा महराले आफूमाथि लागेको आरोपको खण्डन गराए त्यो पनि स्वकीय सचिवमार्फत् । दिउँसो उनको राजीनामा आयो । तर, महरा मौन रहिरहे । आखिर किन बोलेनन् महरा ?

कृष्णबहादुर महरा कम बोल्ने नेतामा पर्छन् । अन्तरमुखी स्वभावका छन् । यसै पनि कम बोल्न रुचाउने महरा संवेदनशील घटनामा सार्वजनिक रुपमा बोलेका छैनन् । उनी मौन हुनाले उनीमाथि प्रहार झन् बढ्दै गएको छ ।

महराका छोराहरुले सामाजिक सञ्जालमा चुनौतीसहितको पोष्ट गरे । उनका समर्थक र शुभचिन्तकले पनि आक्रोश पोखे । तर, महरा मौन हुनुले घटनालाई झन् रहस्यमय बनाएको छ ।

घटनाको सार्वजनिक रुपमा खण्डन गर्न महरा किन प्रस्तुत भएनन् ? के उनी रोशनी शाहीले शुरुमा लगाएजस्तै आरोपमा संलग्न हुन् ? कि उनी घटनाका कारण विचलित भएका छन् ?

रिपोर्टर्स नेपाललाई प्राप्त सूचना अनुसार महरा घटनालाई विभिन्न कोणबाट बुझ्न खोजिरहेका छन् । यो घटना नियोजित थियो या थिएन ? किन आफू यस्तो अप्ठ्यारोमा परियो ? यसबारे विमर्श गरिरहेका छन् ।

घटना ताजै रहेकाले मौन रहनु नै उचित सम्झेर बसेका छन् । उनी सार्वजनिक रुपमा कतै निस्किइरहेका छैनन् ।
महराको मौनताले उनीप्रतिको सहानुभूती जाग्ने अवस्था नबन्ला भन्न सकिन्न । देशमा महरालाई लागेका जस्ता आरोप लागेकाहरुले उन्मुक्ति पाएका घटना पनि छन् । त्यसलाई पनि दृष्टिगत गरी महराको पक्षमा बोल्नेहरु देखिएका छन् ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित महराबाट त्यस्तो घटना होला भनेर पत्याउन सकिरहेका छैनन् । उनले भने, ‘मान्छे मारेर जेल बसेकाहरुलाई सांसदबाट निकाल्नुनपर्ने महराजीलाई किन निकालिहाल्नुपर्ने ।’ घटना षड्यन्त्र हुनसक्ने तर्फ समेत बोल्नेहरु छन् । सांसद समेत रहेका कानुनविद रामनारायण बिडारी यसमा षड्यन्त्र पनि हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘यस्तै हो भने गिनी पिग प्रस्तुत गरेर जो कसैलाई फसाइदिए भैगो ।’

माहोल महराको विपक्षमै छ । उनलाई पक्राउ गर्नुपर्ने माग विपक्षी दलबाट आइरहेको छ । सत्तापक्षबाट खासै चर्को स्वर सुनिएको छैन । नेपाली काँग्रेसका सांसद धनराज गुरुङ महरामाथि कारबाही हुनुपर्ने बताउँछन् ।

रोशनीले सोमबार जर्बजस्तीको आरोप लगाउँदै अन्तवार्ता दिइन् । मंगलबार आफ्नै भनाईको खण्डन गरी अन्तवार्ता दिइन् । त्यसपछि लगातार फेसबुकमा महराको पक्ष लिदै लेखिरहिन् । त्यसकै आधारमा समाचार बने, विश्लेषणहरु भए । अहिले रोशनीको एकपक्षीय भनाईलाई आधार बनाएर बुझ्ने र विश्लेषण गर्ने काम भइरहेको छ । महराको आवाज खै ? File Photo



प्रतिक्रिया दिनुहोस्