काठमाडौं, १८ असोज । हाँस्यकलाकार श्रीकृष्ण सिंखडा शौचालय सफाई अभियानमा छन् । उनी आफै पञ्जा, बुरुशलगायतका सामग्री लिएर विहानै शौचालय सफा गर्न पुग्छन् विद्यालय र कलेजका शौचालयबाट शुरु गरेका उनी अस्पताल हुँदै व्यक्ति व्यक्तिको घरमा शौचालय सफाई अभियान लिएर पुग्दैछन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंको शौचालय सफाई अभियान कहाँ पुग्यो ?
समाज सेवा मेरो जीवनको अभिन्न पाटो हो । त्यसैले देश निर्माण गर्ने काम सार्वजनिक शौचालयहरुबाट शुरु गरौं भनेर थालेको हुँ । देशमा धेरै जना ठूला–ठूला मन्त्री, प्रधानमन्त्रीहरु भए । धेरैले ठूला ठाउँमा निक्तिहरु पनि खाए । तर, सार्वजनिक स्थलमा जाँदा पिसाव फेर्ने शौचालय भेटिएन । शौचालय सुधार गरेर मात्र अविर, खादा, माला, सम्मान खान जाने भनेर सार्वजनिक शौचालय सुधार अभियान थालेको हुँ ।
यो अभियानमा कठिनाई र चुनौतिहरु के के छन् ?
यसमा त ठूलो चुनौति छ । पहिलो त मान्छेको मानसिकता नै वास गर्नुपर्ने छ । दोस्रो जनतामा जागरण ल्याउनु पर्ने छ । तेस्रो कामलाई सानो र ठूलो भनेर विभेद गर्ने चलन छ त्यसको अन्त्य गर्नु छ । मैले शौचालय मात्रै सफा गर्न खोजेको होइन । मानिसको मस्तिष्कमा भूतको बास छ । सानो काम गर्ने मानिस सानो दर्जाको हो भन्ने भावना छ त्यसलाई हटाउने हो । विदेशमा जस्तै उहाँ काम जुन पनि समान हुन्छ ।
काम ठूलो–सानो हुँदैन भन्न खोज्नुभएको हो ?
हो । कुनै पनि काम ठूलो–सानो हुँदैन । यहाँ मान्छेहरु मागेर खाएका छन् । ठगेर खाएका छन् । सहयोगको याचना गरेर हिंडेका छन् । त्यसको अन्त्य गर्नुछ । कलाकारहरुले पनि यो शौंचालय सफा राखौं भनेर अभियान चलाइ दिने हो भने प्रभावकारी हुन्छ । पत्रकारहरुको पनि ठूलो साथ र सहयोगको आवश्यकता छ ।
हाम्रो देशमा राम्रा भावनाले काम गर्ने मान्छेको आवश्यक हो ?
नेपालमा राम्रो काम गर्ने मान्छेको खडेरी छ । यहाँ राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने, भड्काउने, ब्याकब्याटिङ गर्ने, निरुत्साहित गराउने चलन छ । यो ठूलो विडम्बना हो । जो ठूला नेताहरुसँग नजिक छ, कमिसन बुझाउन सक्छ, माफियाहरुसँग चलखेल गर्न सक्छ, उसलाई ठूलो मान्छे भनेर सम्मान परिपाठीको विकास भएको छ । त्यसको अन्त्यको लागि मैले शौचालय सफाई अभियान चलाएको हो ।
अहिलेसम्म कति शौचालय सफाई गर्नुभयो ?
मैले आरआर क्याम्पस सुरु गरेर चाबहिल, भद्रवास हुँदै गागलफेदी पुगेको छु । मेरो यो अभियान देशव्यापी रुपमा जान्छ ।
दशैभरि जानुहुन्छ ?
दशैभरि अभियान सञ्चालन गर्छु ।
तपाईं एक्लै लाग्नुभएको हो कि टिम छ ?
सबै मान्छेहरु जोडिँदै हुनुहुन्छ । यसमा पैसा उठाउने, फन्डिङ गर्ने, यति पैसा लाग्छ भन्ने कुरा एक इन्च पनि हुन सक्दैन । मैले कुनै साथीहरु कहिं कतैबाट पैसा उठाउनेका काम नगर्ने भनेको छु । यसमा त जसले ट्वाइलेट प्रयोग गर्छ उसैलाई जिम्मेवार बनाउने हो । उनीहरुले नै हर्पिक बोकेर सफा गर्न आए हुन्छ । यसमा ठूलो योजना फन्डिङको आवश्यकता छैन । प्रयोगकर्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।
सरकारको घोषणा अनुसार त देश खुल्ला दिशामुक्त भयो होइन र ?
कहाँ मुक्त भएको छ ? सरकारले त एउटा कुनै कार्यक्रमको लागि घोषणा ग¥यो । सरकारले गरेको कार्यक्रमलाई विरोध गर्न हाम्रो नैतिकताले दिँदैन ।
सरकारले गलत काम गर्दा पनि विरोध गर्नुहुन्न ?
विरोध नगर्ने होइन । सरकारले ल्याएको कार्यक्रमलाई मैले जहिले पनि सकारात्मक ढंगले हेर्ने गरेको छु । विरोध पनि सकारात्मक सोच राखेर गर्ने । नेगेटिभ ढंगले होइन । तर, मुख्य कुरा के भने शहरबजारमै खुल्ला ठाउँमा दिशा, पिसाबहरु भइराखेका छन् । शौचालयहरु भएका पनि प्रयोग गर्नै नसकिने गरी फोहोर छन् । सरकारले खुल्लामुक्त देश घोषणा गरिसकेको छ । पुलमुनि, सडक छेउ, बसपार्क आसपास, रत्नपार्कहरुमा खुल्ला रुपमा दिशा गरेको देखिन्छ । ती कुरा मिडियाहरुमा दिनदिनै जसो आइरहेको छ । त्यसैले यसमा अलिकति ढुंगी, देखावटी, चर्चित हुन मात्रै खोजिएको छ काम भएको छैन । ढाँट छल गर्नुहुँदैन देखावटीभन्दा पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
सरकारले खुल्ला दिशामुक्त देश घोषणा गरेको प्रभावकारिता कत्तिको देखिन्छ ?
म अरुले अन्तर्वार्ता दिए जस्तो बोल्न चाहन्न । हामी नागरिक भएको हैसियतले सरकारलाई सुझाव दिन सकिन्छ । यसरी जाँदा राम्रो हुन्छ भन्न सकिन्छ । सरकरले घोषणा गरिरहेको बेलामा सार्वजनि शौचालय सफाई अभियान चलाएको मिडियाले समाचार दिइरहेको खण्डमा सरकारले ध्यान दिनुपर्ने हो नि । कलाकारले ल्याएको अभियानको ख्याल त होला नि । म सरकारको विरोध त गरिहाल्दिँन । हामीले गरेको कामबाट उसलाई सिक्ने अवर हुन्छ ।
तपाईं पनि सरकारको मुख ताकेर बसिरहनुभएको छ होइन ?
सरकार त हाम्रो हो नि । कुनै सरकार नागरिकको हुन्छ । नागरिकले सरकारलाई सहयोग गर्ने हो सरकारले नागरिकलाई हौसला बढाउने हो ।
भ्रष्टाचारले देश आक्रन्त छ नि के भन्नुहुन्छ ?
हो । भ्रष्टाचारले देश दलदलमा फसेको छ । मैले पहिला नै भनेको छु । नेताहरुको ढोकामा कमिसनखोर, दलाल, बिचौलीया मात्रै गएका छन् । त्यसकारण सर्वसाधरणले राम्रोसँग दशैं मान्न सकिराखेका छैनन् । यो शौचालय सफाई अभियान पनि भ्रष्टाचारको अन्त्य गर्ने एउटा कसी हो । जसरी मैले शौचालय सफा गर्दै हिंडेको छु । भ्रष्टाचारीहरुलाई पनि सफाचट पार्नुपर्छ ।
तपाईं भ्रष्टाचार विरोधी अभियानमा लाग्नुप¥यो नि ?
म त भ्रष्टाचारी विरोधी अभियानमै त छु नि । भ्रष्टाचारी विरोधी अभियानाा चक्रपथ सफाई अभियान भनेर हिंडेको मान्छे अहिले फेरि दिशा, पिसाब सोहोर्दै किन हिंडेको हिंडिरहेको छु । त्यसको छुट्टै सिंबोलिक अर्थ छ ।
हाम्रो देशमा भ्रष्टाचारको कुरा गर्दा महारोग नै छ नि ?
भ्रष्टाचारले गर्दा महंगी ह्वात्तै बढेको छ । गरीवले आज दशैं मान्न पाएको छैन । भ्रष्टहरुका घरमा चौरासी बेन्जन पाकेको छ । यो सब भ्रष्टिकरणले गर्दा भएको हो ।
विदेशिएका युवालाई स्वदेशमा रोजगारी दिलाउने दायित्व तपाईंको पनि होइन ?
मेरो अभियान त्यसमा लक्षित छ । किन भने आफ्नो देशमा काम गर्न नरुचाउनेहरु विदेशमा गएर जे काम पनि गरेका छन् । त्यसैले मैले कामलाई ठूला–सानो भनेर छुट्ट्याउने चलनको अन्त्य गर्न लागेको छु । अर्को भ्रष्टाचारले गर्दा सबैतिर अभाव भइरहेको छ । उद्योगधन्दाहरु सबै कर्मचारी र नेताहरुको भ्रष्टचरित्रले बन्द भए । अनि मुलुकमा बेरोजगारी बढेका हुन् । पत्रकार, कलाकार, समाजसेवीले पनि भ्रष्टाचार विरोधी अभियानलाई सशक्त बनाएर अगाडि बढाउनुपर्छ । सबै क्षेत्रबाट सशक्त अभियान चलाएर भ्रष्टाचार मात्रै नियन्त्रण गर्न सकियो भने हामी सबै बिजेता हुने छौं ।
कोही दशैं बोकेर आए, कोही आँसु बोकेर गएका छन् नि नेपालीहरु ?
अघि नै मैले भनेको छु । घूसखोरी, भ्रष्टाचारी, कमिसनखोरहरुलाई दशैं छ आएको छ । गरीवको लागि दशा जस्ता भएको छ । त्यसैले जबसम्म भ्रष्टाचार अन्त्य हुँदैन तबसम्म गरीवको चुल्हो बल्न गाह्रो ।