Logo

महरा प्रकरणको सात दिन; कुन दिन के भयो



काठमाडौं, १८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती र हिंसा गरेको आरोप लागेको सात दिन भयो । यो सात दिनमा घटनाले एकपछि अर्को मोड लियो । घटनाका मुख्य पात्रहरु कृष्णबहादुर महरा र रोशनी शाहीमध्ये महरा मौन छन् । उनले स्वकीय सचिवमार्फत् रोशनीको आरोप खण्डन गरे र पछि राजीनामा बुझाए । त्यसबाहेक उनको कुनै धारणा बाहिर आएको छैन ।

रोशनी शाहीले दुईवटा अन्तवार्ता दिइन् । दुवैमा उनको भनाई बाझिने खालको थियो । कुन दिन के के भएः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा उनको भनाई बदलिदै गएको देखिन्छ । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१५ असोजमा यस घटनालाई लिएर क्रिया प्रतिक्रिया आइरह्यो । रोशनी शाही सामाजिक सञ्जालमा सक्रिय भइरहिन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।

अब महरा रोशनी प्रकरणले लिने मोडबारे हरेक दिन नयाँ नयाँ कुरा आइरहेकाले फेरि अर्को कुरा आउने सम्भावना उत्तिकै छ । लहरो तान्दा पहरो गर्जंदैछ ।



प्रतिक्रिया दिनुहोस्