ओमान । ओमानमा जारी पाँच देश सम्मिलित टी २० क्रिकेट सिरीजमा नेपालले हङकङलाई चार विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ टिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनायो । नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्न सफल भए । उनले हङकङका चार विकेट लिए ।
मध्यम सुरुवात गरेको हङकङका लागि वकास बारकातले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान किन्चित शाहले ३१ रनको योगदान गरे । निजाकत खानले २३ रन बनाउँदा असान अब्बासीले १३ रन थपे ।
३६ रनमा पहिलो विकेटे गुमाएको हङकङ टिमले ४१ मा तीन विकेट खेर फालेको थियो । तर त्यसपछि किन्चित शाहले वकाससँग मिलेर अर्धसतकीय साझेदारी गर्दा उसको पारी सम्हालिएको थियो । उनीहरुको साझेदारीलाई अभिनाश बोहोराले ब्रेक गरेपछि नेपाललाई सहज भएको थियो ।
जवाफमा नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारीले अविजीत अर्धसतक बनाए । उनले ५८ रनको योगदान गरे । अन्तराष्ट्रिय टी २० मा विनोदको यो दोस्रो अर्धशतक हो ।