Logo

चिनियाँ राष्ट्रपतिका लागि सडकमा श्रृंगार, गुणस्तर कम, बजेट स्वाहा



काठमाण्डौ । एक दिनका लागि नेपाल भित्रिन लागेका चिनियाँ राष्ट्रपति सि जिङ पिङको स्वागतका लागि राजधानीका सडक रातारात मर्मत गरिएका छन् । अति विशिष्ट पाहुनालाई देखाउनकै लागि विगतमा पनि यसैगरी सडक र छेउछाउन मर्मत गरिन्थ्यो । तर त्यसरी हतारमा गरिएको काम गुणस्तरीय हुँदैन, केवल बजेट मात्रै सकिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै गरिएका सडक पेटी निर्माणका कामले केही दिन सडक रंगिएपनि त्यसपछिका दिनमा सडककै कारण आम नागरिकले समस्यै समस्या भोग्दै आउनुपरेको छ ।

राष्ट्रपति सिको नेपाल भ्रमण तय भएसँगै स्वागतका लागि काठमाडौंका सडक खाल्डाखुल्डी पुर्नुका साथै सडक किनारा हरियाली बनाउने र सरसफ अभियानलाई तिव्र पारिएको छ । एक हप्ता यता काठमाडौंका सडक खाल्डाखुल्डी पुर्नुका साथै सरसफाई र रंगीचंगी पोष्टर टासि दुलहीजस्तो सिंगारिएको छ । रातारात भत्किएका र धुलोले भरिएका सडक कालोपत्र गरिएको छ ।

रातारात विरुवा रोप्ने, गोडमेल गर्ने तथा सरसफाई गर्ने, सुरक्षा मजबुत बनाउने काम भईरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन् । सडक पेटीहरु रंगिएका छन् । भत्किएका ठाउँमा पिच गर्ने, जेब्रा क्रसिङ बनाउने, खाल्डा खुल्डी पुर्ने, बोर्डर रङगाउने काम भएको छ ।

यसरी रातारात कम अलकत्रोजस्ता सामग्री प्रयोग गरी बनाइएका सडकको गुणस्तर नहुने र एकाधमात्रै टिक्ने गरेका छन् । त्रिभुवन विमानस्थलको मूख्य गेटदेखि चिनियाँ राष्ट्रपति सि बस्ने होटल सोल्टीसम्म कालोपत्रमाथि कालोपत्र थपिएको हो । यस्तै, माइतिघरदेखि राष्ट्रपति निवाससम्म पुग्ने सडकमा पनि रातारात कालोपत्रे थपिएर सडक चिल्ला पारिएका छन् । अलपत्र अवस्थामा रहेको तिनकुनेको नबनेको पार्कमा रातारात हरियाली बनाइएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा सवार हुने रुटमा नेपाल र चीन सम्बन्ध झल्कने पोस्टर तथा झण्डा फहराइने छ भने डिजिटल बोर्डहरुमा चिनियाँ राष्ट्रपति र नेपाली राष्ट्रपतिको तस्वीर राखिने भएको छ । दशैँका बेला मजदुरहरु घरै नगई काम गरिरहेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउदा उनी हिँड्ने प्रमुख सडक रातारात कालोपत्रे भएका थिए । सार्कको शिखर सम्मेलनदेखि बिमिस्टेकसम्मेलनका क्रममा समेत राजधानीका सडक रातारात कालेपत्रे हुन पुगे ।

अरुबेला चाबहिलदेखि गोकर्णसम्मको नबनेको सडक पनि विदेशी पाहुना आउने भएपछि रातारात पिच बनाइए । अरुबेला आमनागरिकले खाल्डाखुल्डीमा जमेको पानी नदेखेर दुर्घटनामा परि ज्यानै गुमाउनु परेको छ ।

धुलोधुवा र जामले वातावरण नै अस्वस्थ्य हुने गरेको कारण सास्ती खेप्नुपरेको छ । नेपाली नागरिकले वर्षैभरी धुलो, धुँवा र खाल्डाखुल्डीमा कष्टकर यात्रा गर्दै आएका छन् । यो काठमाडौंको नियतीजस्तै बनेको छ । तर सरकार भने अति विशिष्ट पाहुनाका लागि मात्रै विकास निर्माणका काम गर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्