ललितपुर, १९ असोज । अर्काको लालपूर्जा देखाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न चार जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका-१ सिरुटार बस्ने ३७ वर्षीया सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका(२५ बाङ्गेमुडा बस्ने ४७ वर्षीया निर्मला श्रेष्ठ, काठमाडौं सितापाइला बस्ने काठमाडौं महानगरपालिका-१७ ठहिटि घर भएका ३६ वर्षीया निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका-१ ईमाडोल बस्ने ४२ वर्षीय निरज ताम्राकार रहेका छन् ।
उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाइल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने बाहिरी रातो कवर १० थान, रबर स्टयाम ४ थान, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।