Logo

पत्रकार निर्भिकले आँखा दानका लागि दिए इच्छापत्र



वालिङ, २० असोज : पत्रकार निर्भिकनारायण भुर्तेलले आँखा दानका लागि इच्छापत्र दिएका छन् । भुर्तेलले २६ औँ जन्मदिनको अवसरमा आफ्नो मृत्युपछि आँखा दान गर्नका लागि आइतबार इच्छापत्र दिएका छन् । आफ्नो निधनपछिको योजनालाई सार्थक बनाउन तथा आफ्नो आँखाबाट अरु कसैले सुन्दर संसार देख्न सकोस् भन्ने उद्देश्यले आफू जन्मेको दिन काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा इच्छापत्र बुझाएको पत्रकार निर्भिकले बताए ।

“मान्छेको शरीर एकदिन खरानी भएर जान्छ, कसैले पनि यो शरीरलाई लिएर जाँदैनन्”, पत्रकार भुर्तेलले भने , “मानव भएर जन्मन पाएको सुअवसरलाई मरेपछि पनि सदुपयोग गर्न आँखा दान गर्ने निर्णय गरी इच्छापत्र बुझाएको हुँ ।” आँखा दान, महादान भन्ने सुन्दै आएको र पहिलेदेखि नै मृत्युपछि आँखा दान गर्ने योजना बनाए पनि बल्ल आएर पूरा भएको पत्रकार भुर्तेलले बताए । आफू नमर्दासम्म दिन नमिल्ने र मरेपछि आफैले दिन नमिल्ने भएकाले घरपरिवार तथा समाजमा यसबारेमा जानकारी गराउँदै पत्रकार भुर्तेलले तिलगङ्गा आँखा प्रतिष्ठानमा खबर गरिदिन पनि अनुरोध गरे ।

हाम्रो समाजमा मृत्युपश्चात अङ्गदान गर्नुहुन्न भन्ने मान्यता रहे पनि यसलाई चिर्दै आफूबाटै शुरुआत गरेको पत्रकार भुर्तेलले बताए । आँखा दान भनेको पूरै आँखा निकाल्ने नभई मृत्युपछि आँखाको नानीमात्रै दान गर्ने हो, नानी निकाल्दैमा मृतकको अनुहार कुरुप नहुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखा प्राविधिक किरन इजम सुब्बाले बताए । नेपालमा एउटा आँखा बराबर १२ जना बिरामी आँखा प्रत्यारोपणका लागि प्रतिक्षामा बस्ने गरेको तिलगङ्गा आँखा प्राविधिक सुब्बाले बताएका छन् । मृत्युपश्चात् आँखा दान गरेमा दृष्टिविहीनले पनि सोही आँखाबाट देख्न सक्ने भएकाले यो निक्कै पून्य कार्य हो ।



प्रतिक्रिया दिनुहोस्