काठमाडौं, २० असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाह दुवैले फरक फरक स्थानमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । बडा दशैंको अवसरमा विजयादशमीमा टीका लगाउन जाने कसैलाई अनिवार्य गरिएको छैन । स्वेच्छाले जो कोही जान सक्छन् । विशिष्ट व्यक्तिहरुलाई पनि वाध्यकारी छैन । तरपनि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउन जाने सम्भावना छ ।
राष्ट्रपति भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार २१ असोज बडादशैंमा दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।
पहिलो चरणमा उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारीका अलावा उच्च सरकारी अधिकारीहरुलाई टीका लगाइदिने तय भएको हो ।
दोस्रो चरणमा दिउँसो साँढे दुई देखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने भएका छन् ।
पूर्व राजा निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार पूर्व राजाले बडा दशैंको अपरान्हबाट सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिने गरी समय तय भइसकेको छ । यसवर्ष पूर्व राजा कहाँ टीका लगाउने आउनेको संख्या बढ्ने अनुमान समेत गरिएको छ ।
बडादशैंमा टीका लगाउन आउनेलाई दृष्टिगत गरी निर्मल निवासमा अग्रिम तयारी भइसकेको छ । यसका लागि सुरक्षा र अन्य व्यवस्था मिलाइएको छ ।
राजसंस्थाको अन्त भएपछि पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । विशेषगरी राजसंस्थाका पक्षधरहरु टीका लगाउन पूर्व राजा कहाँ पुग्ने गरेका छन् । File Photo