काठमाडौं, २२ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको तेस्रो रात पनि प्रहरी हिरासतमा बितेको छ । थुनुवाका रुपमा अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको तेस्रो रात हिरासतको कोठामा बितेको हो ।
हिरासतमा रहँदा उनले खासै मानिसहरुलाई भेट्न मानिरहेका छैनन् । उनलाई चिनेका र शुभचिन्तकहरुले भेट्न खोजेपनि भेट्न नचाहेको बुझिएको छ । महराले परिवारका सदस्य र अति निकटस्थलाई मात्र भेट्न मानेका छन् । उनले एकान्तको चाहना राखेका छन् ।
महराको रक्तचाप बढेर स्वास्थ्यमा समस्या भएपनि अस्पताल जाने इच्छा समेत देखाएनन् । अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै हिरासतमै बस्ने चाहना राखे ।
१९ असोजको साँझ बालुवाटारस्थित सभामुख निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि महरालाई सिंहदरबार वृत्तमा राखिएको थियो । उनीमाथि संसद भवनकै कर्मचारी रोशनी शाहीमाथि जर्बजस्तीको प्रयास गरेको किटानी जाहेरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।