Logo

दशैँका लागि साँढे २६ लाख गृहजिल्लामा, आजदेखि काठमाण्डौमा चहलपहल बढ्दै



काठमाण्डौ । बडादशैँ अन्तरगत आज एकादशी । टिका लगाउने क्रम जारी नै छ । दशैँका लागि काठमाण्डौ उपत्यका छोडेर गृह जिल्ला जानेहरु फर्किने क्रम सुरु भएको छ । बजारमा पनि चहलपहल सुरु भएको छ ।

विभिन्न समुदायमा कोजग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । तर आजदेखि सार्वजनिक विदा सकिएको छ । विदामा दशैँ मनाउन घर पुगेकाहरु आफ्नो काममा फर्किन थालेका छन् । सडकमा सार्वजनिक सवारी सधानको संख्या पनि आजदेखि बढेको छ । ठूला पसल तथा व्यापारिक घरानाहरु नखुले पनि साना र फुटपाथका पसलहरु संचालन हुने क्रम बढेको छ ।

किनमेल गर्ने उपभोक्ताको उपस्थिती पनि बाक्लिन थालेको छ । दशैँ मनाउनका लागि काठमाण्डौमा बसेर विभिन्न पेशा, व्यवसाय र जागिर गर्नेहरु गृह जिल्ला गएपछि केही दिन सुनसान भएको थियो । दशंैको समयमा काठमाडौंबाट २६ लाख ४१ हजार ९ सय ८९ यात्रु बाहिरिएका थिए भने ११ लाख ३० हजार ९ सय ४२ जना यात्रु भित्रिएका थिए ।

त्यस्तै २ लाख ९३ हजार ६ सय सवारी साधन बाहिरिएको तथ्यङ्क छ भने १ लाख ९९ हजार ५ सय ४६ ओटा सवारी भित्रिएको महानगरिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

असोज ५ गतेदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ४ सय १५ जना सवारी चालक लाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असोज ५ गतेदेखि २२ गते विहानसम्मको तथ्याङ्कमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २ सय ४० जना घाईते भएको प्रहरी कार्यालयले जनाएको छ ।

तस्विर : कमलमणि पोख्रेल



प्रतिक्रिया दिनुहोस्

Screenshot