Logo

‘कुमार पन्त र कुल आचार्यबीच समझदारी बन्नेमा म विश्वस्त छु’ : सापकोटा (भिडियोसहित)



काठमाडौं, २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन् । कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ ।

नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेद्धवारी घोषणा गरेका सोम सापकोटा, महेश कुमार श्रेष्ठ र सुदन थापाले पनि गैरआवासीय नेपालहरुले दोहोरो नागरिकता पाउनुपर्ने कुरा उठाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले संघको नवौं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोषाध्यक्षका उम्मेद्धवार सोम सापकोटाले आफू कोषाध्यक्षमा निर्वाचित भए संघको कोषलाई पारदर्शी रुपमा चलाउने विश्वास दिलाए ।

त्यस्तै, सापकोटाले स्वरोजगार कल्याणकारी कोषलाई चलायमान बनाउँदै गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्नको लागि उपयोग गर्ने बताए । आफूले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुसँग साक्षात्कार गरेको र उनीहरुको सल्लाह र सुझावकै आधारमा कोषाध्यक्षको उम्मेद्धवार बनेको सुनाउँदै आफ्नो जीत सुनिश्चित् रहेको पनि सापकोटाको दाबी छ ।

उनले प्यानल बनाएर चुनाव लड्नुभन्दा संस्था बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी प्यानलबाटै चुनाव लड्नुपर्ने अवस्था आए अध्यक्षका उम्मेद्धवारी कुल आचार्यसँग आफू नजिक रहेकोले सोहीअनुसार निर्णय लिने पनि उनले स्पष्ट पारे । सापकोटा अहिले संघका सह–कोषाध्यक्ष हुन् । संघलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्नेबारे आफूसँग विगत १३ वर्ष लामो अनुभव रहेकोले अब उक्त अनुभवलाई व्यवहारमा उतार्ने बेला आएको सुनाउँदै कोषाध्यक्षमा उम्मेद्धवारी दिने निर्णय गरेको सापकोटाको भनाई छ ।

संघमा आवद्ध भएदेखिको १३ वर्षको अवधिमा आफू संसारभरि रहेका राष्ट्रिय समन्वय परिषदमा आफू पुगेको पनि उनले सुनाए । वैदेशिक रोजगारीका समस्यालाई हल गर्नको लागि पनि आफूले पहलकदमी लिने उनले सुनाए । ‘म कल्याणकारी समितिको सदस्य पनि हुँ, आगामी दिनमा वैदेशिक रोजगारीको समस्या जो छन्, ती सबै हल गर्नको लागि पनि म पहल गर्नेछु ।’–उनले भने ।

उनले २ करोड रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई कम्तिमा पनि पाँच करोडको कोष बनाउने जनाए । विभिन्न कालखण्डमा आफूहरुले गरेका सञ्चालनमा रहेका परियोजनाहरुको लेखाजोखा गर्नुपर्ने बताए । राष्ट्रिय समन्वय परिषदलाई पनि आर्थिक रुपमा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ । उनले आफू निर्विरोध कोषाध्यक्ष हुने सम्भावना सुनाए । तर, चुनावी प्रतिष्पर्धा भएपनि आफू नै विजयी हुने उनले सुनाए ।

उनले संघको नेतृत्वमा उम्मेद्धवारी दिएका कुमार पन्त र कुल आचार्यबीच समझदारी बन्नेमा आफू विश्वस्त रहेको पनि सुनाए । उनले भने,‘हामीसँग अझै एक हप्ता समय छ, हामी सर्वसम्मतीमा नेतृत्व चयन गर्नेबारे प्रयासरत छौं ।’



प्रतिक्रिया दिनुहोस्