Logo

बडादसैंको टीकाको तेस्रो दिन, आजपनि टीका लगाउनेक्रम जारी



काठमाडौं, २३ असोज । बडादसैंको टीकाको तेस्रो दिन बिहीबार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ । टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।

परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ । नेपालको पश्चिमी भेगमा भने विजयादशमीका दिनमात्र टीका लगाउने चलन छ । समयसँगै पूर्णिमासम्मै टीका लगाउने चलन पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्