Logo

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना



दाङ, २३ असोज : पश्चिम दाङको बबई गाउँपालिका– ५ मा पर्ने पुरन्धरा झरना हेर्न जानेको सङ्ख्या दिनानुदिन बढ्दो छ । तीनतिरबाट जङ्गलले घेरेको पश्चिमतर्फ भने बबई नदी छ । नदीको करीब १० मिटर टाढा पूर्वतर्फ मनोरम पुरन्धरा झरना छ । करीब ४५ मिटर उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्य देख्दा त्यहाँ पुग्ने जो कोही आकर्षित हुन्छन् । झरनाबाट खसेको पानी पोखरीजस्तै संरचनामा जम्मा हुन्छ । पोखराीको पानी त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ ।

झरनाको अवलोकन गर्न पुग्ने जो कोही पनि त्यहीँ पानी खस्ने ठाउँमा तस्बिर खिच्न व्यस्त देखिन्छन् भने गर्मीको समयमा सोही पोखरीमा पौडी खेल्ने गर्दछन् । यति बेला दशैँको समयमा घर फर्केका दाङका विभिन्न गाउँ टोल तथा अन्य छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि त्यहाँ पुग्ने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए ।

बुढाका अनुसार दशैँ अघि दैनिक दुई तीन सय आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गरेकोमा दशैँको समयमा दैनिक छ देखि ७०० आन्तरिक पर्यटन झरनाको अवलोकनका लागि पुगेका छन् । उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरेपनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको रु ३०, कार तथा जीपको रु २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण, पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताए ।

झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब र बाँकी रकम झरनाको विकासमा खर्च गरिने उहाँले जानकारी दिए ।

झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलो पटक पुग्नुभएका २५ वर्षीया समीक्षा भट्टराईले यहाँ आउँदा निकै आनन्द लागेको बताउनुभयो । आफू अध्ययनको सिलसिलामा लामो समयदेखि काठमाडौँ रहेको र अहिले दशैँको समयमा घरमा आउँदा समय मिलाएर यहाँ आएको बताए ।

उनले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा, स्वच्छ राख्न सुझाव दिए ।

त्यसैगरी झरनाको अवलोकनका लागि पुग्नुभएका तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ४५ वर्षीय ज्ञानसी चौधरीले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूवार्धार निर्माण गर्नसके पश्चिम दाङको मुहार नै फेरिने बताए ।

पहिले पञ्चकुलेबाट छ घण्टा पैदल हिँडेर आएको बताउनुहुने चौधरीले अहिले त गाडी चढेर यहाँ आउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । “अहिले यहाँ विकास निर्माणका काम पनि भइराखेका रहेछन्, त्यसमा पनि बाटो बनेछ”, चौधरीले भन्नुभयो । चौधरी आफ्ना छोराछोरीलाई लिएर झरनाको अवलोकनमा पुग्नुभएको थियो । अझै त्यहाँ चमेना गृह, पर्यटकका लागि आवश्यक पर्ने शौचालय, पिउनेपानी तथा फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिए ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताए । उनले चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाई कार्यान्वयनका लागि त्यहाँ भौतिक पूर्वाधार निर्माण भइरहेको बताए ।

उहाँले प्रदेश नं ५ सरकारले झरनाको विकास गर्न रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाले पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । झरना क्षेत्रसम्म पुग्ने बाटोमा कल्भर्ट तथा ग्राभेलको काम सम्पन्न भएको छ । झरना क्षेत्रमा सजिलैसँग जान आउन सिँढी, प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गरिएको र अब छिट्टै झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुलीलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि उनले जानकारी दिए ।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करीब आठ किमि दक्षिण पचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महीना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्ने छन् । झरना एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन । झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईवस्तु लिएर जङ्गलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए । झरना करीब १०० मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ ।

पछिल्लो समयमा झरना सम्म पुग्ने ग्राभेल मोटर बाटो निर्माण हुनुका साथै ठाउँठाउँमा त्यहाँ कल्र्भट निर्माण, झरना पुग्नका लागि सिँढी, प्रतिक्षालयलगायतका पूर्वाधार निर्माणका कमले जिल्लामा आउने पर्यटकको रोजाइ झरना पर्न थालेको छ । ग्राभेल बाटोलगायतका पूर्वाधार निर्माणले जुनसुकै महीनामा पनि पुग्न सो क्षेत्रमा पुग्न सकिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot