Logo

आगलागीबाट मोटरसाइकल ध्वस्त



धनुषा, २३ असोज : धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जनकनन्दिनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरी राखिएको वडाध्यक्ष विष्णुदेव साहको मोटरसाइकलसहित नौ वटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहको आगजनीले जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज बिहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिनुभयो । सो आगलागीमा जनकन्दिनी गाउँपालिका–३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ । सो घटनामा ५ वटा नेपाली प्लेट र चार वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए ।

सार्वजनिक स्थलमा पार्किङ गरी राखिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको छ । घटनामा तीन वटा साइकलसमेत जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस  Photo Source : The Himalayan Times



प्रतिक्रिया दिनुहोस्