Logo

दश वर्षमा पनि सभागृह हस्तान्तरण भएन



भीमदत्तनगर, २४ असोज : सरकारी स्वामित्वमा रहेको कञ्चनपुरको भीमदत्त नगरस्थित सभागृह (सिटी हल) १० वर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन । विसं २०६५ मा महेन्द्रनगर नगर विकास समितिको लगानीमा निर्माण थालिएको सभागृहको काम सकिएको भए पनि हस्तान्तरण नहुँदा अलपत्र परेको छ ।

महेन्द्रनगर नगर विकास समितिको कार्यालयका सूचना अधिकृत पुष्पराज भट्टले निर्माण कम्पनीको करीब रु २२ लाख रकम भुक्तानी बाँकी रहेकाले हस्तान्तरण हुन नसकेको बताए ।

रु साढे नौ करोडको लागतमा निर्माण सम्पन्न भएको सभागृहको काम निकै ढिलो गरी सकिएको छ । “शुरुमा दुई वर्षभित्र निर्माण सक्ने गरी ठेकेदारसित सम्झौता भएको थियो ।” सूचना अधिकृत भट्टले भने ,“विसं २०६९ पछि ठेकेदारले पनि लापरवाही गर्दै केही समय काम छाडे ।”

निर्माणको जिम्मा पाएको श्यामसुन्दर गौरी–पार्वती जेभीले सभागहृ निर्माणका लागि पाँचपटक समय माग गरेको उनले बताए । “समितिको बोर्ड बैठकले नै काम गर्ने समायावधि थप गर्दै गए” भट्टले भने , “झण्डै वर्ष नगर विकास समितिको किचलोले कामकाज नै ठप्प भयो ।”

करीब ६३८ बिघा जमीन रहेको महेन्द्रनगर नगर विकास समितिको २०६७ सालपछिको नेतृत्वमा आउनेहरुले जग्गा भाडाका नाममा गुरुयोजना मिचेर जग्गा वितरण गरेपछि शहरी विकास मन्त्रालयले समितिको कामकाज झण्डै पाँच वर्ष रोकेको थियो । भाडा प्रकरणमा अनियमितता हुनुका साथै प्रक्रिया नपु¥याएको मुद्दा अझै सर्वोच्च अदालतमा छ ।

“समितिको सम्पूर्ण कामकाज गर्ने गरी जिम्मेवारी सचिवस्तरको निर्णयले धनगढीस्थित शहरी विकास डिभिजन कार्यालयलाई दिएको छ” सूचना अधिकृत भट्टले भने ,“अब प्रशासनिक काम शुरु भएसँगै चाँडै सभागृह पनि हस्तान्तरण हुन्छ ।”

उहाँले भुक्तानी प्रक्रिया लम्बिदा सभागृह हस्तान्तरण हुन ढिलो भएको बताए । नौ महीनाअघि गत पुसमा मन्त्रिपरिषद्बाट विघटन गरिएको महेन्द्रनगर नगर विकास समितिको अध्यक्षतामा स्थानीय तहका प्रमुख (भीमदत्त नगरपालिकाका प्रमुख) र सदस्य–सचिवमा कार्यकारी अधिकृत रहनुपर्ने व्यवस्था गत फागुन २९ गते राजपत्रमा प्रकाशित भएको सूचना अधिकृत भट्टले बताए । भीमदत्तनगर नगरपालिकाले सभागृह हस्तान्तरण गर्न सङ्घीय कार्यान्वयन एकाइलाई पत्राचार गरिसकेको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot