काठमाडौं २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदैछन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरेको छ ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ ।
यस्तो छ सीको भ्रमण तालिका
शनिबार
बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
आइतबार
करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने