दीपेश केसी: चीन, नेपाल र भारतबीचको सम्बन्धलाई केलाउँदा हु यन साङको यात्रावर्णनलाई स्मरण गर्नुपर्छ । साङले चीनबाट उत्तरी भारतसम्मको यात्राका क्रममा घुमाउरो बाटो प्रयोग गरेका थिए । हिमपर्खालका कारण मात्र नभएर चीनबाट भारतसम्म पर्ने राज्यबीचको वैमनस्यता र राजनीतिक अस्थिरताले पश्चिमतर्फ बढ्दै मध्यएशियाका अग्ला पहाड र हिमाली शृंखला पार गर्दै पुनः पूर्व दक्षिणतर्फ बढ्न वाध्य पारेको थियो । त्यसमाथि चीन छाड्न त्यहींका कठोर शासकको अनुमती अनिवार्य थियो । दुई वर्ष लगाएर हालको किर्गिस्तान, उज्बेकस्तान, अफगानिस्तान, ताजिकिस्तानबाट पाकिस्तानको बाटो हुँदै उत्तरी भारत पुगेको उनको यात्रा वर्णनमा उल्लेख छ ।
दुई विशाल सभ्यताबीचका विभिन्न राज्यहरूबीच वैमनस्यता थिए । चीन र भारतबीचको दूरी बढाउन जटिल भूगोलले मात्र भूमिका खेलेको थिएन । दुवैको बीचमा रहेका राज्यहरूबीचको वैमनस्यता पनि कारण थियो । त्यसैले हु यन साङलाई सिधा नआई मध्यएशियाको लामो मार्ग तय गर्नुपरेको थियो ।
चिनियाँ शासकको कडाईसँगै बीचमा रहेका राज्यहरूको रोकटोकले बुद्ध धर्मको उद्गमस्थल रहेको दक्षिणपश्चिमी क्षेत्रसँग असहजता थियो । व्यापारीहरूले मात्र आवत्जावत्का लागि अनुमति पाउनसक्थे । चीन र भारतबीचका व्यापारीहरूका माध्यमले सम्बन्ध जोडिएको थियो । व्यापारिक दृष्टिले नेपाल दुई सभ्यताका बीच भूसेतु थियो । सातौं शताब्दीसम्म नेपालले दुई सभ्यताको समृद्धीबाट लाभ हासिल ग¥यो । तर, दुवै समाजबीच दूरी बढ्दै जाँदा नेपाल पनि आर्थिक दृष्टिले ओरालो लाग्यो । हिमपर्खालको अवरोधका बाबजुद व्यापारिक र बौद्धिक सम्बन्ध स्थापित भएको उत्तर र दक्षिणका दुई सभ्यताबीच राजनीतिक कारणले बढेको दूरीले अदृश्य पर्खाल खडा गरिदियो । बाह्य हस्तक्षेपसँगै धेरै युद्धहरू भए ।
समृद्धीको स्वार्थले कुनै पनि देश र समाजलाई युगौं युगसम्म मित्र वा शत्रुमा सिमित राखिरहन सक्दैन । चीन र भारतको सन्दर्भमा पनि यही लागू हुन्छ । सीमा विवादका कारण दुवै देशले युद्ध लडिसके । अझै पनि सीमा समस्या छन् । तर, नेतृत्वको सोच र व्यवहारमा परिवर्तन आइसक्यो । समस्यालाई थाती राखेर आर्थिक समृद्धीमा केन्द्रित हुँदै सम्बन्ध प्रगाढ बनाउँदै लगेका छन् । कुनैबेला उत्तरतर्फको आफ्नो नाका खुल्ला गर्न भारतीय पक्ष हच्किन्थ्यो । चीन पनि तिब्बतको सामरिक संवेदनशिलतालाई मध्यनजर गर्दै दक्षिणी सीमा कडाई गरिरहन्थ्यो । चीन र भारतबीचको चीसो सम्बन्धको मारमा दुवै देशको बीचमा रहेका नेपाल, भुटान र बर्मा जस्ता देशहरू पर्थे । दक्षिण एशियाका अन्य देशहरूको आर्थिक प्रगतिमा समेत नकारात्मक असर प¥यो । भारततर्फमात्र नाका सहज हुँदा नेपाल लामो समयसम्म भारतवेष्ठित रहन वाध्य भयो ।
अब चीनले तिब्बतको ल्हासा हुँदै नेपाल, भारत र भुटानको सीमा क्षेत्रसम्म रेलसेवा विस्तार गर्ने महत्वाकांक्षी योजना ल्याएको छ । जटिल भूगोलका बाबजुद तिब्बतका चट्टानी पहाड र पठानमा रेल गुडाइसक्यो । भारत पनि उत्तरतर्फका सीमासम्म विस्तार भइरहेको रेलमार्ग र सडकमार्गलाई सुरक्षाका दृष्टिले संवेदनशील मानेर मात्र समय खेर फाल्ने पक्षमा छैन । उसले पनि चिनियाँ सीमासम्म रेलसेवा र सडकमार्ग सुधारको महत्वाकांक्षी योजना बनाइसक्यो ।
उत्तरतर्फ ध्यान
ल्हासा हुँदै सिगात्सेमा रेल आइसकेपछि नेपाली पक्ष केरूङ्ग सम्म रेलसेवा विस्तार हुने प्रतिक्षामा छ । रसुवागढी नाकाबाट मात्र २२ किलोमिटर दूरीको केरूङ्गसम्म सन् २०२० मा रेल सेवा संचालनमा आउने अपेक्षा गरिएको छ । तातोपानी नाकाको सबैभन्दा नजिकको खासा बजार सम्म रेल सेवा विस्तार हुने प्रतिक्षा पनि छ । रेलसेवाले उत्तरी छिमेकीका व्यापारिक शहरहरूसँगको दूरी घट्दै जानुले नेपालको आर्थिक क्षेत्रमा दुरगामी असर पर्न सक्छ ।
भारतले नेपालका पाँच व्यापारिक शहरसम्म रेल सेवा संचालनको योजना कार्यान्वयनका लागि तदारूकता देखाएर केहीमा सफलता हासिल गरिसकेको छ । नौतनहवाबाट भैरहवा, नेपालगञ्जरोडबाट नेपालगञ्ज, जोगवनीबाट विराटनगर, न्यु जलपाइगुरीबाट काकडभिट्टा र जयनगरबाट बर्दिवास रेलसेवा निर्माण गर्ने तय गरेको छ । दुई छिमेकसँगको कनेक्टिभिटीबाट लाभ लिने तत्परता नेपाली पक्षबाट हुन जरुरी छ । रेल आयो र आउँछ भनेर हुँदैन । रेलसँगै उत्पादनमा अद्धिवृद्धि गर्न जरुरी छ ।
दुई सभ्यताबीचको भूसेतु बन्दैमा समृद्धी हासिल हुँदैन भन्ने गतिलो पाठ सिकाइसकेको छ । आत्मनिर्भरताको बलियो आधार तयार नगरेसम्म छिमेकीको दयामा टिक्नुपर्ने अवस्था आइरहन्छ । त्यसैले हाम्रो ढोकामा देखापरेका अवसरहरूलाई पहिचान गरी आत्मनिर्भरताका लागि आधार तयार गर्नुपर्छ । हामी महाशक्तिको महत्वाकांक्षा बोकेका दुई ठूला देशबीचको भूसेतु मात्र भएर पुग्दैन । हामीसँग भएको जलस्रोत र जडिबुटी हाम्रो शक्ति हुन् जसको बलबाट हामी आत्मनिर्भर र सामथ्र्यवान बन्नसक्छौं । भारत र चीनजस्ता उदीयमान देशहरुको बीचमा बसेर नेपालले उनीहरुले केही गरिदेलान् र बनाइदेलान् भनेर मात्र हुँदैन । आफैले अन्वेषण गर्ने र नयाँ उत्पादन र अवसर सृजना गरेर आर्थिक प्रगति हासिल गर्न सक्नुपर्छ । अवसर आएको छ खेर फाल्न हुन्न ।