Logo

चिनियाँ राष्ट्रपतिलाई भेट्न नपाउँदा महरा दुःखी !



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ आज अपरान्ह साँढे चार बजे काठमाडौं आउँदैछन् । उनको स्वागतको लागि नेपाल सरकारले भव्य तयारी गरिसकेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलदेखि सी बस्ने सोल्टी क्राउन प्लाजासम्मका सडकहरु बेहुलीझैं सिंगारिएका छन् । आज विहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओली सडक निरीक्षणमा निस्किएका थिए ।

सी भारत हुँदै नेपाल आउँदैछन् । काठमाडौं विमानस्थलमा सीलाई सरकारले भव्य स्वागत गर्ने भएको छ । उनको स्वागतको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आफैं विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुग्नेछन। विमानस्थलमा सीलाई गार्ड अफ अनर दिइने छ । उक्त गार्ड अफ अनरमा मन्त्रिमण्डलका सदस्य तथा संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका अधिकारीको बाक्लो उपस्थिति रहनेपनि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । विमानस्थलबाट राष्ट्रपति सी सिधै होटल सोल्टी पुग्नेछन् । सीले आजै राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् । शितलनिवासको कार्यक्रम समापन भएसँगै सी पूनः सोल्टी फर्कने छन्। आजै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदै गर्दा कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा छन् । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।महरा चीनसँग नजिक थिए । तर, विडम्बना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा उनी प्रहरी हिरासतमा छन् । २३ वर्षपछि चीनबाट राष्ट्रपति नेपाल भ्रमणमा आउँदा पूरै देश उनको स्वागतको लागि व्यग्र प्रतिक्षामा छ ।

तर, महरा भने महिलामाथिको यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा छन् । सभामुखको हैसियतामा उनले धेरै पटक चीनको औपचारिक भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदापनि उनलाई भेट्न नपाउँदा महरा दुःखी रहेको स्रोतको दाबी छ । उनी यतिवेला प्रहरी हिरासतमा पुस्तक अध्ययन गरेर दिन काटिरहेका छन् । उनलाइृ भेट्न अहिलेसम्म कोही पनि नेता गएका छैनन् । हुन त उनले पनि कसैलाई भेट्न नचाहेको बुझिएको छ ।

स्वास्थ्यमा केही समस्या आएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको श्वाँसप्रश्वासँमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालबाट उनीसँग प्रहरीले पहिलो चरणको बयान समेत लिईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्