Logo

मखानखेती महोत्तरीबाट लोप हुँदै



जलेश्वर, २५ असोज : कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सैयौ पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरुले बताए ।

जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मानिसको मृत्यु संस्कार र श्राद्ध कर्मसमेतमा मिथिलामा मखानको प्रयोग हुने गर्दछ । निक्कै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातित हुन थालेकाले जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखियाले बताए ।

धेरै आम्दानीका लागि किसान माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेशा सङ्कटमा परेको छ । विशेषगरी पोखरी तलाउमा गरिने मखानखेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मिहेनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जाति मखानखेतीतर्फ दिनप्रतिदिन आकर्षित भएका थिए । अहिले यस पेशाप्रति किसान उदासिन देखिएका छन् ।

मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिनरुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलाप देखिन छाडिएको छ । मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रलगायत दर्जनौँ गाउँमा करीब २५० बढी पोखरीमा गरिन्थ्यो तर अहिले कताकतै मात्र हुने गरेको स्थानीयले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot