काठमाडौँ, २५ असोज : बडादशैँको सबै बलि दिने (अखिल बलि पूर्ति) काम आजैदेखि समाप्त भएको छ ।
विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत पूर्णिमा मनाउनुपर्ने भएकाले पूर्णिमा भने आइतबार मनाउनुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सबै बलि पूर्ति भएसँगै घटस्थापनाका दिन घरघरमा राखिएको जमरा नदी वा पवित्रस्थलमा लगी सेलाइन्छ । यसपछि विजयादशमीदेखि शुरु भएको मान्यजनबाट दुर्गाको प्रसादका रुपमा लगाइने टीका टाला सकिन्छ ।
दशैँको टीका सकिएसँगै शहर बजारमा चहलपहल शुरु हुन्छ । दशैँका बेला सुनसान बनेको जनजीवन पहिलेकै अवस्थामा फर्कन्छ । रासस